वीरगञ्जबाट रंगेहात मोटरसाइकल चोर पक्राउ

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले मास्टर साँचो बनाई मोटरसाइकल चोर्दै गरेको अवस्थामा १ जनालाई रंगेहात पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकीस्थित प्रभु हस्पिटलको अगाडी खाली ठाउँमा पार्किंग गरी राखिएको पर्साको धोबीनी गाउँपालिका वडा नम्बर ४ निवासी २३ वर्षीय गौरभ पटेलको प्र.२–०३–००८ प ७१३६ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल चोर्दै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्कबाट नियमित गस्तिमा खटिएको टोलीले बाराको कोहल्वी नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय जित बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीसँगै निजले प्रयोग गरेको ग९प ६६५९ नम्बरको २ सय २० सिसिकै पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

खनालका अनुसार चौधरीमाथी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । साथै चोरी कसूरमा संलग्न अर्का व्यक्ति घटनास्थलबाट फरार भएकाले निजको खोजी कार्य तिव्र पारिएको डिएसपी खनालको भनाई छ ।

प्रतिक्रिया