बारा : बाराको कलैया उपमहानगरपालिकामा एक दलित महिला जनप्रतिनिधिलाई मध्यरातमा घरबाट उठाएर लगि खम्बामा बाँधेर कुटपिट भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.२७ कि दलित महिला सदस्य तारा देवी पासवानलाई बुधबार मध्यराति खम्बामा बाँधेर कपडाच्यातच्युत गरी कुटपिट भएको हो ।
एकजनाको बुहारी अर्कै कुटासंग भगाउन सघाएको भन्दै स्थानीय ४५ वर्षीय जोगिन्द्र साह नेतृत्वको समूहले जनप्रतिनिधि पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटको क्रममा उनको लुगासमेत च्यातच्युत पारेका छन् । खम्बामा बाँधेर कुटपिट गरिरहेको खबर प्रहरीलाइ हुनासाथ राती करिब साढे ११ बजे पुगेर पासवानको उद्धार गरि कलैया हस्पिटल पुर्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले टुडेपाटीलाई बताए ।
उनका अनुसार प्रहरी पुग्नासाथ कुटपिट गर्नेहरु भागेका थिए । कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई पक्राउ गर्न सफल भएको र अन्यको खोजविन भरहेको उनले जानकारी दिए । कुटपिटबाट पासवान घाइते भएकी छन् ।
कुटपिट गर्ने साह लगायत ८ जना विरुद्ध समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा शुक्रबार दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । – टुडेपाटी