सर्लाही : प्रदेश २ को सर्लाही जिल्ला स्थित बरहथवा नगरपालिका २ हजरियामा निर्माणाधीन अवस्थामा रहेको शहीद पार्कको पर्खाल भत्किएको छ ।
बरहथवा नगरपालिकाले शहीद पार्क निर्माण गर्न आन्तरिक स्रोत तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ मा ३३ लाख रुपैयाँ बजेट छुट्टयाइएको योजना शाखाका प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिनुभयो ।
शहीद पार्क निर्माण गर्न वैशाख अन्तिम हप्ता नगरपालिकाले आशिष पौडेलको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । उपभोक्ता समितिबाट निर्माण भएको पार्कको पर्खालमा कमसल निर्माण सामग्री र लापर्बाही भएका कारण पर्खाल भत्किएको स्थानीयवासी हिरालाल परियारले बताउनुभयो ।
साविक हजरिया गाविसको खेल मैदान नजिकै विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूको सम्झनामा शालिक निर्माण गर्ने उद्देश्यले शहीद पार्क निर्माणका लागि बजेट छुट्टयाइएको नगरपालिकाले जनाएको छ । शहीद पार्क निर्माणका लागि आन्तरिक स्रोत तर्फबाट छुट्टयाइएको ३३ लाख रुपैयाँ सबै भुक्तानी भइसकेको बताएको छ ।
पर्खाल निर्माण गरिएको एक महिनाभित्रमा भत्किएकाले पुनर्निर्माण गरिने उपभोक्त समितिका अध्यक्ष पौडेलले बताउनुभयो । खोलाको छेउबाटै पर्खाल लगाउनुपर्ने स्थानीयवासीले माग गरेकाले वर्षाका कारण पर्खाल भासिएर लडेको उहाँले दाबी गर्नुभयो ।
बरहथवा नगरपालिका २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले निर्माणका लागि छुट्याइएको रकम वडाको नभएको र वडासँग कुनै समन्वय नगरि काम भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो ।