Monday 9th of December 2024

पत्रकार मोहम्मदलाई लागू औषधमा फसाउने व्यक्ति पत्रकार महासंघको रौतहट सह-सचिव !

0 Shares

रौतहट : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको खुलासा भएको छ।

यस घटनाको मुख्य योजनाकार पत्रकार भएको प्रहरी अनुसन्धानमा देखिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह- सचिव संजय सहनीले योजनाबद्ध रुपमा लागुऔषध राख्न लगाएको खुलेको हो।

साउन ३२ गते पत्रकार मोहम्द चढ्ने भारतीय नम्बर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट फेला परेको थियो। राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमावा टोलीले पत्रकार मोजुबुल्लाह र शेख उतिउल्लाहलाई नियन्त्रणमा लिएको हो।

महासंघका सह-सचिव सहनीले रौतहट माधव नारायण नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका बस्ने २३ वर्षीय जितेश कुमार यादवलाई प्रयोग गरेर पत्रकार मोहम्मद चढ्ने मोटरसाइकलमा १ सय ५ वटा लागूऔषध नाइट्राभेट राखेको खुलेको छ। त्यसपछि प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाई बोलाएर पक्राउ गराएको खुलेको हो। दुई जना प्रहरीले सहनीको योजनामा साथ दिएको देखिएपछि दुवैलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धविक्रम शाहले जानकारी दिए।

प्रहरीले लागुऔषध राख्ने जितेक कुमार र धिरज यादवलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

साउन ३२ गते पत्रकार मोहम्दको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट फेला परेको थियो। रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोहम्मद मोजीबुल्लाहलाई रौतहट प्रहरीले नाटकीय रुपमा लागू औषध घटनामा फसाएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दाबी गर्दै आएका थिए।

सीसी टिभी फुटेजमा गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटीमा राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुन्डाइरहेको देखिएको थियो। सीसी टिभि फुटेजको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। स्रोत ः पहिलो पोस्ट

 

प्रतिक्रिया