सिरहा : सिरहाको यातायात मजदुरहरुले लहानमा शुक्रबार ट्राफिक प्रहरी र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको गुनासो छ । बिहिबार ट्राफिक प्रहरी र लहान नगरपालिकाको नगर प्रहरीले बस बुकिङ्ग काउण्टरबाट सरसमान र कागजात लगेर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको थियो। त्यो सरसमान अहिलेसम्म फिर्ता नपाएको यातायात मजदुर जुगुत यादवले बताए । पूर्व सुचना बिनानै आफ्नो काउण्टरभित्र प्रहरीले छिरेर सरसमान लगेको उनले सुनाए।
बजार एरियाबाट नयाँ बस पार्कमा काउण्टर सार्ने विषयमा विवाद सुरु भएको देखिएको छ । बस व्यावसायी, प्रहरी र नगरपालिकाबीच असार ३० गते साउन २ गते सम्ममा काउण्टर सार्ने सहमति भएको जनाएको छ । तर, काउण्टर नसारेपछि सरसमान लगिएको प्रहरीको भनाई छ । सहमति कार्यान्वयन गराउने सन्दर्भ विवाद देखिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन कुमार दाहालले बताए ।
सहमति अनुसार काम नभएको देखिएपछि नगर प्रहरी र ट्राफिक प्रहरीले सरसमान उठाएको ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर दानबहादुर मिरिङ्गचिङ्गले बताए।