जनकपुरधाम : मधेस आन्दोलनका शहीद परिवारका सदस्य र घाईतेहरुले बिहीवार जनकपुरस्थित मधेस भवन अगाडी प्रदर्शन गरेका छन् ।
कार्यालय सहयोगीमा दिएको करार नियुक्तिको म्याद थप नगरेको, कतिलाई नियुक्तिपत्र दिएपनि व्यवस्थापन नगरेको, शहिद प्रतिष्ठान गठन गरेपनि काम नगरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् । प्रदेश सरकारलाई माग पुरा गर्न पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरेको सर्लाही मलंगवाका मधेस आन्दोलनका शहीद दिनेश राय यादवका भाइ रामनरेश राय यादवले गुनासो गरे ।
उनले मधेस आन्दोलनकै बलमा सरकार बनेपनि शहिद परिवारलाई अपमान गरिरहेको दुःखेसो समेत पोखे । उनले भने, ‘ एक त योग्यताको आधारमा जागिर दिएको छैन । कार्यालय सहयोगीमा दिएको जागिरको म्याद पनि थप गरिरहेको छैन ।’ मलंगवाकै शहिद नागेन्द्र ठाकुरकी श्रीमती सकुन्तला पनि प्रदर्शनमा सहभागी थिइन् । उनले पनि प्रदेश सरकारले गरेको प्रतिवद्धता पुरा नगर्दा तीन छोरालाई पढाउन नपाएको गुनासो गरिन् ।
‘कार्यालय सहयोगी पदमा साढे १९ हजारको जागिर दिएको छ’, उनले भनिन्, ‘त्यो रुपैयाँले घर चलाउने कि छोरा–छोरी पढाउने ?’ प्रक्रिया पुरा गरी आफूहरुलाई स्थायी गर्नुपर्ने प्रदेश सरकारसँग उनको माग छ । यस्तै जनकपुरकै शहिद कारी ठाकुरका छोरा उपेन्द्र ठाकुरले प्रदेश सरकारले नियुक्ति दिएपनि अहिलेसम्म तलब नपाएको गुनासो गरे ।
उनले भने, ‘कुन कार्यालयमा काम गर्ने नै ठेगान छैन ।’ २०७६ जेठ ३० मा नै नियुक्तिपत्र सरकारले उपलब्ध गराएपनि ब्यवस्थापन नगरेको उनको गुनासो छ ।