Thursday 18th of July 2024

सर्लाहीको फुलजोर खोलाको बाढीले भत्काएको पुल अलपत्र

0 Shares

सर्लाही : सर्लाहीको फुलजोर खोलाको पुल डेढ महिनाअघि बाढीले क्षति पुर्‍याएको निर्माण कार्य अलपत्र परेको छ । गत असार १५ गते बाढीले लालबन्दी नगरपालिका-३ जब्दी र ईश्वरपुर नगरपालिका-८, रामपुरलाई जोड्ने निर्माणाधीन पुलमा क्षति पुर्‍याएको थियो । त्यसपछि पुल निर्माणको काम अघि बढ्न सकेको छैन् ।

पुल ढलान भएको दुई सातामै बाढी आएर क्षति पुर्‍याएको थियो। ईश्वरपुर नगरपालिका-८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले बेलैमा काम नगरेरका कारण बाढीले पुलमा क्षति गरेको बताए ।

‘मैले त बर्खा लागेपछि खोलामा बाढी आएर गाह्रो पर्न सक्छ, बैशाखमै पुलको ढलान सकौँ भनेको थिएँ,’ थापाले भने‚ ‘तर ठेकेदारबाट अटेरी भो, नभन्दै बाढी आएर पुल बगाएरै छाड्यो।’

२०० मिटर लामो पुलको करिब ४० मिटर क्षति भएको छ। सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो ।

पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य छिमेकी स्थानीय तहका बासिन्दालाई समस्या भएको छ। ठेकेदार कम्पनीले लापरवाही ढंगले काम गरेको र समयमै कामदारहरुको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको लालबन्दी-३ जब्दीका राम कैलाश चौधरीले बताए ।

पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १२ करोड रुपैयाँमा ठेक्का लिएको हो । संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७५/७६ बाटै पुल निर्माणको काम सुरु भएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि मनोजकुमार साहले बर्खा याममा काम नहुने नभएकाले अब कात्तिक लागेपछि मात्रै पुलको बाँकी काम सुरु हुने बताए ।

प्रतिक्रिया