विवाहेत्तर सम्बन्ध, प्रेम र सम्पत्ति जस्ता कारणले परिवारकै सदस्यबाट हत्याका घटना बढ्दै
जनकपुरधाम : धनुषाका भागेश्वर मण्डलले गत सोमबार राति आफ्नै बुबा र श्रीमतीको हत्या गरे । ३० वर्षीया पत्नी अमृता र ५५ वर्षीय बुबा रामवृक्षलाई आपत्तिजनक अवस्थामा देखेपछि आक्रोशित भएका भागेश्वरले उनीहरूको हत्या गरेका हुन् ।
मिथिला विहारी नगरपालिका–५ ललियाका ३५ वर्षीय भागेश्वर वैदेशिक रोजगारीका क्रममा रहँदा ससुरा–बुहारीको सम्बन्ध सुरु भएको थियो । मलेसियाबाट ४ वर्षअघि फिरेका भागेश्वरले विवाह गरेका थिए । एक वर्षपछि फेरि कतार हानिए । गत चैतदेखि उनी धनुषास्थित घरमै बसिरहेका थिए । सोमबार पत्नी र बुबालाई आपत्तिजनक अवस्थामा देखेपछि उनले रिस थाम्न सकेनन् । पत्नी र बुबाका लागि एउटै चिहान खने ।
साउन ३० गते प्रेमीबाटै हत्या गरिएकी सर्लाही, लालबन्दी १७ रानीगन्जकी १४ वर्षीया प्रियंका भुजेलको शव कालिन्जोर खोलामा गाडिएको अवस्थामा भेटियो । स्थानीय १८ वर्षीय मनीष दाहालसँग गहिरो प्रेममा रहेका यिनी दुईबीच विवाहलाई लिएर विवाद थियो । दुवैबीच प्रेम रहेको हल्ला प्रियंकाका परिवारले थाहा पाए । प्रियंकाले मनीषलाई भागेर विवाह गरौं भन्दै अड्डी कसिन् । मनीष तयार भएनन् । प्रियंका नभागे हल्ला गर्छु भन्दै चिच्याइन् । मनीषले उनको मुख थुने । त्यही क्रममा प्रियंकाको मृत्यु भयो । मनीषले उनको शव खोलामा गाडिदिए ।
०७८ जेठ १९ गतेदेखि बेपत्ता भएको भनिएकी महोत्तरी, लोहारपट्टी नगरपालिका–७ भमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव सडेगलेको अवस्थामा एक महिनापछि निर्माणाधिन शौचालयको जगमा पुरिएको अवस्थामा भेटियो । परपुरुषसँग लागेको भन्दै सुजितालाई योजना नै बुनेर ससुरा, देवर र आफ्नै बुबाले हत्या गरेका थिए । हत्यापछि उनीहरूले नै सुजिता बेपत्ता रहेको भन्दै भ्रम छर्न खोजी गरिरहे ।
यस्तै, ०७८ वैशाख १७ गते राति धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीमा ३५ वर्षीय शम्भू मण्डललाई २५ वर्षीया श्रीमती सुशीला मण्डलले देवर सुनिल मण्डल र सञ्जय मण्डलसँग मिलेर हत्या गरिन् । श्रीमान् विदेशमा हुँदा देवरसँग उनको सम्बन्ध बढेको थियो । श्रीमान्ले त्यो थाहा पाएपछि पत्नी–देवर मिलेर ज्यानै लिए ।
पारिवारिक कलह, प्रेम र यौनका घटनामा आफ्न्तबाटै ज्यानै लिनेसम्म घटना पछिल्लो समय प्रदेश २ मा बढेको छ । धेरैजसो घटनामा हत्यापछि शव लुकाउन गाड्ने प्रवृत्ति सबैतिर देखिएको छ । रोजगारीमा श्रीमान् विदेशमा हुँदा श्रीमतीको अरूसित लसपस हुनु र श्रीमान् घर फर्किंदा श्रीमती अरूसितै घरजम गरिसकेको घटना समाजमा त छँदैथियो । तर, अहिले त्यस्ता सम्बन्धले हत्याको रूप लिन थालेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २२ वर्षीया प्रियांका देवीको हत्या आरोपमा उनका पति सन्तोष पासवान पुर्पक्षका लागि थुनामा छन् । ०७८ असार ४ गते राति सुत्ने तरखरमा रहेका उनीहरूबीच झगडा भयो । आक्रोश थाम्न नसकेका पति सन्तोषले पत्नीको घाँटी थिचेर हत्या गरिदिए । यी दुईबीच झगडा पर्नुको कारण पनि पत्नी अरूसित लागेको सन्तोषको आशंका थियो । त्यही रिसमा उनले पत्नीको ज्यानै लिए ।
‘परिवारमा आर्थिक, सामाजिक मर्यादाविपरीतको गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ र प्रतिशोधका कारण परिवारकै सदस्यबाट हत्या भइरहेको छ,’ एसपी रानाभाटले भने, ‘यस्ता घटना समाजका लागि घातक हो ।’ उनका अनुसार प्रतिशोधको भावना आएपछि आफ्ना र पराई छुट्याउन सक्ने अवस्था हुँदैन । यी कलहमा वैदेशिक रोजगारीको फ्याक्टर पनि जोडिन्छ । ‘वैदेशिक रोजगारले घरघरमा आफ्नै खाले कलह छ । कतै ऋणकै पिरलो हुन्छ । कतै घर बिग्रेलाजस्तो हुन्छ,’ रानाभाटले भने, ‘परिवारिक विखण्डन परिवारभित्र हुने हत्याको प्रमुख कारण हो ।’
जनकपुरका मनोचिकित्सक डा.रोविन झाका अनुसार नकारात्मक सोच हावी हुँदा यस्ता घटना बढेका छन् । घरपरिवारको कलहले निम्त्याएको रिस थाम्न नसकेपछि हत्यासम्म हुने गरेको उनको बुझाइ छ । ‘मानसिक रोगीले मात्रै हत्या गर्ने सम्भावना हुँदैन,’ डा.झाले भने, ‘रिस सहन नसकेर सानो विषयलाई पनि ठूलो मुद्दा बनाउँदा मान्छे झन्झन् रिसाहा बन्छ । उसमा बदलाको भावना बलियो गरी जरो गाड्छ । यस्ता मनोप्रवृत्तिको पनि उपचार छ ।’
घरपरिवारमै आफन्तबाटै हत्यासम्मको घटना बढेपछि प्रदेश २ प्रहरी कार्यालयले यसको सामाजिक, मानसिक र पारिवारिक कारण केलाउँदै कारबाहीसँगै चेतनामूलक अभियान थाल्नुपर्ने विषयमा छलफल अघि बढाएको छ । प्रदेश २ प्रहरीका प्रमुख डीआईजी उमेश रञ्जितकारका अनुसार अपराधको मोडालिटी फेरिएकाले प्रहरी र समाज पनि त्यसैअनुरूप हिँड्नुपर्ने समय आएको छ ।
‘पछिल्लो समयमा भइरहेको हत्यामा इज्जत र प्रतिष्ठालाई प्रमुख कारण बनाएको देखिन्छ,’ डीआईजी रञ्जितकारले भने, ‘परिवारका सदस्यबाटै हत्याका घटना बढेकाले पछिल्ला घटनाक्रम, अपराध अनुसन्धानको अवस्था, पीडितलाई न्याय र पीडकलाई भएको कारबाहीसहित आपराधिक घटनाको अडिट गर्ने समय आएको छ ।’ स्राेत : कान्तिपुर