काठमाडौं / इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारत एक इनिङ र ७६ रनले पराजित भएको छ । हेडिङ्ग्लेमा खेलिएको खेलको चौथो दिन भारतको दोस्रो पारी २७८ रनमा समेटियो । यो वर्ष भारतको यो सबैभन्दा ठूलो हार हो । योसँगै ५ खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने लर्ड्स मैदानमा खेलिएको दोस्रो टेस्टमा भारत विजयी भएको थियो । अब चौथो टेस्ट २ सेप्टेम्बरदेखि केनिङटन ओभलमा खेलिनेछ ।
भारतले पहिलो पारीमा मात्र ७८ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४३२ रन बनाएको थियो । पहिलो पारी सकिँदा भारत ३५४ रनले पछि परेको थियो । चौथो दिनको खेलमा भारत सशक्त पोजिसनमा रहेको थियो । २ विकेटको क्षतिमा २१५ रनको अवस्थाबाट खेल्न सुरु गरेको भारत २७८ रनमा अल आउट हुन पुग्यो । मात्र ६३ रन भारतले ८ विकेट गुमाएको थियो ।
भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक ९१ रन तथा कप्तान विराट कोहलीले ५५ रन बनाए । भारतलाई सस्तोमा समेट्न जेम्स एन्डरसन र क्रेग ओभरटनले ३–३ विकेट तथा ओली रोविन्सन र श्याम करनले २–२ विकेट लिए ।
सन् २०२१ मा भारतले १० वटा टेस्ट खेलेको छ । जसमध्ये ५ वटा जीत र ३ मा हार व्यहोरेको छ ।