Saturday 20th of July 2024

एमसीसी, तालिबान र नेपाल

0 Shares

पेशल आचार्य

नेपाल यतिखेर अप्ठ्यारो बाटो हिँड्दैछ । एकातिर नेपालीका इच्छा, आकांक्षा चुलिएका छन् भने अर्कोतिर क्रियाशील नेपाली ठालु पार्टीहरूका नेता र कार्यकर्ताका बोली, बानी र बेहोरा हेर्दा कतै चित्त बुझाउने ठाउँ देखिन्न ।

मरूभूमिमा सिकारीद्वारा लखेटिएको सुतुर मुर्गा (अष्ट्रिच) ले आफ्नो ज्यान जोगाउनकै लागि जसरी बालुवामुनि टाउको घुसार्छ त्यसैगरी अहिले जनताहरू रोग, भोक, शोक र अभावले गर्दा कोभिडको महामारीमा त्यसैगरी टाउको लुकाउन बाध्य छन् । फगत् जीवन बाँच्ने आसले ।
‘सौताको रिसले पोइको काखमा आची गरेको’ भन्नेझैँ शैलीमा माधव नेपालहरूले केपी ओलीको उधुम अन्याय र सगोत्री हेला सहन नसकी छुट्टै पार्टी गठन गरेका छन् । राष्ट्रिय रुपमा क्रियाशील काँग्रेस, एमाले, माओवादी र जसपा यी ४ पार्टी छँदै थिए अब फेरि माधव नेपालवाला नेकपा समाजवादी र महन्थ ठाकुरवाला लोकतान्त्रिक समाजवादी पार्टी गरी २ पार्टी अरू थपिए ।

नेकपा एमालेले वर्तमान सभामुख अग्नि सापकोटालाई आफूले कारबाहीको सिफारिस गरेका १४ सांसदहरूको सांसद पद किन नखुस्काएको भनेर ओलीले मुखै फोरेका छन् ।

यतिखेर ओली नेपाली राजनीतिमा मुखमा जे आयो त्यही बोल्ने नेताका रूपमा देखिएका छन् । उनले हिजो आफू दुई तिहाई बहुमतमा रहेका बेला गर्ने गरेका जति सबै बेहद झुट, दम्भ, अहम् र हंकीडंकीको बेबहार अहिले पनि देखाइरहेका छन् । तर फरक आनका तान भैसकेको छ हिजो उनका ती सब फत्तुरहरू सहनका लागि खाइपाई आएका वा पालितपोषित तमाम कार्यकर्ताहरू थिए भने अहिले उनका आफ्ना सिमित कार्यकर्ताहरू मात्रै छन् ।

अलिकति समयले, अलिकति आफ्नै दम्भले र अलिकति चिढिएका भारतीयहरूलाई खुसी पार्नुपर्ने बाध्यताले गर्दा सत्ता खुस्किएको हो । ओलीमा केही राम्रा गुणहरू समेत रहेका थिए ।

उनले भारतीय समकक्षीलाई जसरी पहिलोपटक प्रधानमन्त्री हुँदा संसदमा स्वागत् गरे, ठीक विपरीत दोस्रोपटक प्रधानमन्त्री हुँदा र चुच्चे नक्सा प्रकरणमा तथानाम गाली गरकै हुन् । एकातिर चुच्चे नक्सालाई राजनीतिक रूपमा प्रकाशन गरेर सबै जनताको वाहवाही लिए भने अर्कोतिर त्यसलाई आफ्नो बनाउनका लागि छिमेकी देशसित चातुर्यपूर्ण तरिकाले वार्ता, कूटनीतिक पहल र पेपर वर्कका कुनै कार्यहरू पनि अघि बढाएनन् ।

यो उनको महा भूल हो । कुरालाई जति हल्कारूपमा उठान गरे तर त्यसलाई दिमागी कसरतसाथ चातुर्यतापूर्ण ढङ्गले बैठान गर्न सकेनन्, जानेनन् या उनका सल्लाहकार तथा केबिनेट मन्त्रीहरूले साथ दिन भाँती पु¥याएनन् ।

दक्षिण एसियाका आफ्ना छिमेकी मुलुकहरूमै कटुतापूर्ण सम्बन्ध रहेको भारतलाई चिढ्याएर अर्कोपटक जनतामा कथित राष्ट्रवादको ह्याङ्ओभर भिराएर उनले जित्न सक्ने भनेको आउँदो चुनाव नै थियो । त्यो अब माधव नेपाल गुटले दर्ता गरेको नेकपा समाजवादीको उपस्थितिले धेरै पर धकेलिदिएको छ ।

नेपाली राजनीतिको सुईले एकसय असी डिग्री फन्को मारेको छ । हिजो केपी ओली प्रधानमन्त्रीमा हुँदा उनी एम्सिसीका अन्ध समर्थक थिए भने आज प्रतिपक्षमा रहँदा उनको बोली फेरियो । ‘माछा देख्दा दुलामा हात सर्प देख्दा पाखामा हात’ भन्ने नेपाली उखानले बताएझैँ सरकारमा देउवा पदासीन भएपछि अब एमसीसी पास गर्नुपर्ने भाउँतो उनको भएको छ ।

अफगानिस्तानका एकजना पूर्व मन्त्री जर्मनीमा शरणार्थी जीवन बिताएर यतिखेर पिज्जा बेच्छन् । अमेरिकाले रसियनहरूको विपक्षमा तालिवानलाई हतियार, पैसा र सैन्य बलको पुट दिएर अफगानिस्तानमा विन लादेनलाई पोष्यपुत्र बनाएकै हो । त्यहाँ आजभन्दा करिब अढाई दसक अघिसम्म राजतन्त्र थियो । तालिवानले पहिले राजतन्त्रलाई खायो । राजा जाहेद शाह भागेर इरान पुगे र कहिल्यै देश फिर्तीको सपना देखेनन् । उनी प्रवासमै मरे । नेपालले एमसीसी सम्झौता लागू ग¥यो भने भोलि नेपालको हविगत अफगानिस्तानको र नेपाली नेताहरूको हालत अहिले जमर्नीमा पिज्जा बेच्दै गरेका पूर्व मन्त्रीकै जस्तो हुन्छ भनेर एकथरी विश्लेषकहरू यतिखेर बर्बराउन थालेका छन् ।

तालिवानले अमेरिकी सैनिकलाई चारैतिरबाट घेरा हाली जिते पनि काबुल विमानस्थल भने यतिखेरसम्म अमेरिकी सैनिकहरूकै नियन्त्रणमा छ । आफूहरूले युद्ध जितिसकेपछि एकतर्फी रूपमै तालिवानले युद्धविरामको घोषणा गरे भने सो परिवेशलाई मध्यनजर गर्दै राष्ट्रपति असरफ घानी देश छाडेर भागे । उनले आफ्नो ज्यानको माया मार्न सकेनन् तर पूर्व राष्ट्रपति हमिद कारजई भने आफू कुनै हालतमा देश नछाड्ने बरू देशमै मर्ने आशयले काबुलमै छन् ।

भनिन्छ –समय र नदीको छालले कसैलाई पर्खँदैन । अहिले केही हजार किलोमिटर सडक र विद्युत प्रशारण लाइनका लोभमा गरिएको एम्सीसी नेपालका लागि सदाका लागि घाँटी माथिको जाँतो हुन्छ । त्यो कुराको हेक्का अहिले नै राखेको राम्रो हो । युवा पुस्ताले एम्सीसीलाई सकारात्मक रूपमा लिएकै छैन । मात्र अहिलेका क्रियाशील ठालु पार्टीका नेताहरूले लिएका छन् । जति भए पनि विदेशी ऋण र सहयोग थाप्न नबिर्सिने यी नेताहरूले देशको मौलिक विकासका मोडलहरूचाहिँ नल्याउने भए ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय शासनको गत वर्षको महालेखा परीक्षकले प्रस्तुत गरेको प्रतिवेदन हेर्दा प्रदेश सरकारहरू निकम्मा र खर्च गर्न समेत नसक्ने बेढङ्गी पाराका देखिए । उनीहरूको बेरुजु प्रतिशत हेर्दा जनता तीन छक्क छन् । यो देखेर ‘प्रदेश सरकारको कामै छैन’जस्ता अभिव्यक्ति समेत सामाजिक सञ्जालमा छाउन थालेका छन् ।

जुन देशमा सोह्र खरबको बजेट प्रस्तुत हुन्छ त्यो देशमा वार्षिक रूपमा ४ खर्ब १८ अर्बको बेरुजु हुन्छ भने देश कतातिर जाँदैछ भन्ने आफैँमा स्पष्ट छ । नेपालमा अहिले समस्या भनेको आफ्नो पार्टीको पहिलो पुस्ताका नेताहरूको खराब आचरण, अभिव्यक्ति र निर्णयमा दोस्रो, तेस्रो र चौथो पुस्ता पनि चुप लागेर सहेर बस्नु हो ।

आफ्नो पार्टीका गलत विचार र बेबहार बोक्ने नेताहरूलाई युवा पुस्ताका नेताहरूले मुहतोड जवाफको संस्कृति जबसम्म शुरू गर्दैनन् तबसम्म बास्तविक लोकतन्त्रको प्रत्याभूति हुन सक्दैन ।

महाकालीमा तुइन काटिएर बेपत्ता भएका जयसिँह धामीको परिवारलाई देउवा सरकारले ब्लड मनिका रूपमा दस लाख दिने घोषणा गरेको छ । तर उनको ज्यूज्यानको पत्ता लगाउने र भारतीय एस्एस्बीलाई कारबाहीको कुनै छनक समेत दिएको छैन । यो शैलीले देउवाको सरकार पनि शनैः शनैः अलोकप्रियताको भासमा जाकिने पक्का भैसक्यो । अब नेपालमा ‘युवालाई काम र बूढालाई आराम’ गर्ने बेला बित्न आँटिसकेको छ । यो कुरा युवा पुस्ताले बुझेर सार्थक र परिणाममुखी हस्तक्षेप गर्न ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया