Saturday 20th of July 2024

चुरे संरक्षणका काम गुणस्तरहीन

0 Shares

महोत्तरी : महोत्तरीमा संचालित चुरे संरक्षणको नाममा गरिएको कामकाज गुणस्तरहीन रहेको तथ्य सार्वजानिक गरिएको छ ।

महालेखा परिक्षणको कार्यालयले जारी गरिएको एक प्रतिवेदन अनुसार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको समन्वय इकाई कार्यालयले गरेको काम मापदण्ड विपरीत रहेको ठहर गरिएको छ ।

इकाई कार्यालय जनकपुरधामले महोत्तरीको रातु खोलामा कार्यान्वयन गरेको बजेट बालुवामा पानी खन्याए झै भएको संरक्षणकर्मीहरुको गुनासो रहेको छ । २५ लाख ३६ हजारको गल्छी पहिरो खहरे रोकथाम र २७ लाख ९० हजार रहेको रातुखोला तटबन्धको काम कमसल देखिएको प्रतिवेदनमा उल्लेख रहेको छ । जथाभावी तरिकाले केही स्थानमा निर्माण गरिएको पर्खाल भत्किएको अवस्थामा पाईएको छ । त्यस्तै उपभोक्तासँग सम्झौता गरे अनुरुप वृक्षारोपण गरिएको छैन । रातु खोलाको तटबन्ध निर्माणमा ग्याबियन वालमा पूरै ढुंगा नभरिकनै योजना सम्पन्न भएको फर्जी कागजात तयार गरिएको समेत प्रतिवेदनले जनाएको छ ।

चुरे संरक्षणको नाममा ९ अर्ब सरकारी बजेट खर्च

चुरे क्षेत्रको संरक्षण गर्न २०७१ सालमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति स्थापना गरिएको थियो । चुरे विनाश रोक्ने उद्देश्यले पूर्व राष्ट्रपति डा. रामवरण यादवको योजनामा संरक्षणका कार्यक्रम ल्याइयो । तर, त्यो कार्यक्रमको वृत्तीय प्रगति राम्रो भए पनि काम भने कमजोर भइरहेको बताइएको छ ।

नेपालको कूल भूभागको करिब १२.७ प्रतिशत क्षेत्र चुरेले ओगटेको छ । ३७ जिल्लामा फैलिएको चुरे क्षेत्रले देशको ३४० स्थानीय तहलाई छोएको छ । आर्थिक वर्ष २०७१÷०७२ देखि २०७६÷०७७ सम्म ९ अर्ब २१ करोड १५ लाख खर्च भइसकेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया