महोत्तरी । प्रदेश नं. २ का सरकारले १ हजार ५ सय छात्रालाई साईकल वितरण गरेको छ । सोमबार १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर जनकपुरस्थित मुख्यमन्त्री निवास मधेश भवनमा १ हजार ५ सय २० जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।
धनुषा जिल्लाको २७ सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सो छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताउनुभएको छ । जसको लागि प्रदेश सरकारले भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको मुख्यमन्त्री राउतले बताउनुभयो ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमापछि रहेको महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनुभयो । प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।
सोहीवीच एसिड पिडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो । यसअघि प्रदेश सरकारले २०७५÷०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।
उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।