Thursday 18th of July 2024

जनकपुरका अधिकांश जनप्रतिनिधिले रोजे लोसपा

0 Shares

अजय कुमार झा, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाबाट निर्वाचित भएका अधिकांश जनप्रतिनिधिहरुले महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सनाखत गरेपछि उपमहानगरपालिकामा नगरप्रमुख लालकिशोर साह अल्पमतमा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल तथा सङ्घीय समाजवादी पार्टीबाट निर्वाचित भएका १२ जना वडाध्यक्ष सहित, कार्यपालिका सदस्य एवं अन्य सदस्य गरेर ६७ जना रहेकामा अधिकांशले लोसपा रोजेका छन् ।

उपमेयर रिता कुमारी मिश्र सहित अधिकांश वडाध्यक्षहरू लोसपा रोजेपछि जनकपुरधाम उपमहानगरपालिकाको नगरपरिषद्मा वर्तमान नगरप्रमुखले नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको साथ लिँदा समस्या हुने अवस्था रहेको छ ।

जसपावाट लोसपा रोज्नु भएको वडा नंं ७ का वडाध्यक्ष जानकी राम साहले उपमहानगरपालिकामा निर्वाचित भएका मध्ये अधिकांश जसपाका जनप्रतिनिधिहरू लोसपा रोज्नु भएको बताउनुभयो ।

केही वडाध्यक्षहरू अहिलेसम्म नखुले पनि लोसपामा नै आउने विश्वास वडाध्यक्ष साहको रहेको छ । २२ गतेसम्म सनाखतको समय रहेकाले अधिकांश जनप्रतिनिधिहरू लोसपामा आउने दाबी लोसपा रोजेका उपप्रमुख रिता कुमारी मिश्रको रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख सँग थोरै व्यक्ति जाने र यसको निर्क्योल २२ गते ५ बजेपछि प्रमाणित हुने पनि लोसपाका नेताहरूले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया