Thursday 7th of November 2024

जनकपुरधाम उपमहानगरले बनाइरहेको शहीद गेट निर्माणको टेण्डरमै अनियमिमता !

0 Shares

राजा झा, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरिरहेको शहीद गेटको नाममा अनियमितता भएको पाइएको छ।

मधेश आन्दोलनका शहीदहरुको सम्मानमा बनाउन लागिएको शहीद गेट निर्माणमा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरको उत्तरी प्रवेशद्वार मुजेलियामा शहीद गेट निर्माण गराइरहेको छ।

यसको लागि गरिएको टेण्डर प्रक्रियामा अनियमितता गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हो। उपमहानगरले शहीद गेट निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक सूचनासहित टेण्डर आह्वान गरिएको थियो।

३० दिन अवधि तोकिएको सो टेण्डरमा रवीन्द्र कन्स्ट्रक्सन प्रा.लि.को प्रस्ताव मात्र परेको थियो। तर सो कन्स्ट्रक्सनको अनुभव सम्बन्धी कागजात नक्कली प्रमाणित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो। त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना आह्वान गरेपछि गौरी पार्वती साप जे.भि. को एकल प्रस्ताव परेको थियो।

महालेखापरीक्षकको प्रतिवेदनमा ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत घटीमा मात्रै अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको भनिएको छ।

२०७७ साल असार २० गते शिलान्यास गरिएको सो शहीद गेट निर्माणमा आर्थिक वर्ष २०७६/७७ मा ४४ लाख ७७ हजार ७ सय २ र आर्थिक वर्ष २०७७/०७८ मा २ करोड बजेट विनियोजन गरिएकोमा जेष्ठसम्ममा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ खर्च गरिएको हो।

जनकपुरधाम–ढल्केवर सडक खण्डअन्तर्गत निर्माण भइरहेको ३१ फिट अग्लो द्वारको तीनवटा पिलरमा तेस्रो मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका नितु यादव, दिलिप यादव र सञ्जय चौधरीको प्रतिमा र माथि भगवान रामले धनुष लिएको प्रतिमा रहने डिजाइन गरिएको छ। – देश सञ्चार

प्रतिक्रिया