Tuesday 21st of January 2025

रौतहटमा किसानको ट्र्याक्टर जुलुस

0 Shares

रौतहट : तराईरमधेस उर्वरभूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले बेवास्ता गरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् । उनीहरुले बुधबार सदरमुकाम गौरमा ट्र्याक्टर जुलुस निकालेका छन् ।

मलखादको चरम अभाव र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै किसानले आन्दोलन गरेको प्रदेश २ का सांसद कुन्दन कुशवाहाले बताए । ‘बजारमा यूरिया मलको अभाव छ । भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानुनी झन्झटको सामना गर्नुपरेको छ,’ उनले भने, ‘धानमा बाला गिज्याउने बेला यूरिया मल पाउन सकेका छैन । सरकार चुप बसेको छ । यही कारण आन्दोलनमा उत्रनु परेको हो ।’

सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्र्याक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था र किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरुले सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । सरकारले किसानको समस्याबारे ध्यान नदिँदा दिन प्रतिदिन खाद्यान्न आपूर्तिको दर बढ्दै गएको र तराईरमधेसका जग्गाहरुको उर्वरशक्ति, उत्पादनमा ह्रास आउन थालेको कृषक रामकृपाल साहले बताए ।

किसान आन्दोलनप्रति प्रदेश सांसद कुशवाहाले ऐक्यबद्धता जनाउँदै भने, ‘किसानको समस्याबारे केन्द्र र प्रदेश सरकारलाई पटक(पटक अवगत गराएँ । तर कुनै सुनुवाइ भएन । भन्सारको तथ्यांकले पनि हामी खाद्यान्नमा समेत अन्य मुलुकमा परनिर्भर हुन थालेको पुष्टि गर्छ ।’

किसानहरुले आन्दोलनको पहिलो दिन गौरमा कृषियन्त्रसहित प्रदर्शन गरेका थिए । किसान संघर्ष समितिले ज्ञापन पत्रदेखि र्‍याली निकाल्नेसम्मका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया