महोत्तरी : समाचार सम्प्रेषण गरिएको भन्दै एजेन्टले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् । सर्लाही धनकौल ४ घर भएका कुन्दन कुमार मिश्रा (राजन) ले महोत्तरीको गौशालामा संचालित रेडियो रुपान्तरणका पत्रकार नागेन्द्र साहलाई मोवाईल फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन ।
एजेन्ट मिश्राले शुरुमा पत्रकार साहलाई फोन गरि समाचार किन, कसलाई साधेर लेखियो भन्दै थर्काएका थिए । त्यसपछि एकाएक तिम्रो रेडियोको हरेक कर्मचारीलाई धिसारेर मार्छु भन्दै आफु लगायतका आफ्ना रेडियोकर्मीलाई समेत ज्यानमार्ने धम्की दिएको अध्यक्ष साहले बताए । कुराकानीको अन्त्यमा गत असारमा टिफर दुर्घटनामा मृत्यु भएका महोत्तरीका एक रेडियोकर्मीलाई आफुले नै हत्या गरेको टेलिफोनमार्फत खुलासा गर्दै एजेन्टले फोन काटेका थिए ।
पत्रकार महासंघ कारवाहीको गरे माग
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले ज्यान पत्रकारलाई मार्ने धम्की दिने एजेन्टलाई यथासिघ्र कारवाहीको दायरामा ल्याउनका लागि प्रहरी प्रशासनसमक्ष माग गरिएको छ ।
पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै यसरी दिनदहाडै संचारकर्मीलाई ज्यान मार्ने धम्की दिनु निन्दीय रहेको उल्लेख रहेका छन् । सो प्रेस विज्ञप्तिमा जिल्लाभरिमा संचालित संचारगृहलाई सहज रुपमा काम गर्ने वातावरण सिर्जना गरिदिनका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन ।
यस्तो थियो घटना
विदेश पठाईदिन्छु भन्दै महोत्तरीका ११ जना युवासँग एजेन्ट मिश्राले चौध लाख तीस हजार रकम असुल गरेका थिए । स्थानिय एक ईट्टा उद्योगमा मजदुरको रुपमा कार्यरत रहेका उनीहरुसँग एजेन्ट मिश्राले विदेश पठाईदिने भन्दै जनही १ लाख ८० हजारका दरले असुली गरेका थिए ।
एस आर मेनपावर काठमाण्डौबाट उनीहरुलाई दुवईमा मजदुरको काममा पठाईदिने भन्दै उनलाई सहमति वमोजिम पैसा र पासपोर्ट जिम्मा लगाईएको गौशालाका सोलीन्द्र सहनीले बताए । पासपोर्ट लिएको छ महिना पछि भिसा आएको जानकारी दिएपछि आफुहरुले पैसा बुझाईएको सहनीले जानकारी दिए ।
कोही खेत बेचेर त कोही साहु महाजनसंग सयकडाको ३ रुपैयाँ व्याजका दरले ऋण खोजेर उनीहरु मिश्रालाई प्रतिव्यक्ति एकलाख तीस हजार बुझाईएको थियो । गत फागुन २४ गते उडानका लागि काठमाण्डौ पुगेका उनीहरुसँग एजेन्ट एकाएक सम्पर्कविच्छेद भएका थिए । १२ दिनसम्म आफुहरु काठमाण्डौमा अलपत्र अवस्थामा रहेको युवा बद्री मुखियाले बताए । मुखियाले अगाडि भने–‘एकाएक एजेन्ट मिश्रा आफुहरुसँग सम्पर्क तोडेयो । त्यसपछि आफुहरु काठमाण्डौको गौशालामा रहेको महानगरीय प्रहरी वृतमा मिश्रा विरुद्ध उजुरी समेत दिएका थियौ । प्रहरीले मिश्रा फरार भएको खवर गराएपछि सवैजना निराश भई काठमाण्डौबाट घर फर्कियौ ।’
आठ महिना वित्दा समेत एजेन्ट मिश्राको बारेमा कहि कतैबाट पत्तो लागेको छैन । यता साहुमहाजनले आफुहरुसँग ऋणको व्याज लिनका लागि ताकेता गर्दै आएका छन । यता उनीहरुको घरपरिवार विचल्लीमा परेको छ ।
अलपत्र हुनेमा गौशाला नगरपालिकाका ३१ बर्षिय छठु राय यादव, वर्ष ४० को सोलीन्दर सहनी, वर्ष ३४ को सिकिन्द्र सहनी, वर्ष ३५ को सुरेन्द्र महरा, वर्ष २५ को अनिल महतो, वर्ष १९ को सुनिल महतो, वर्ष १९ को रामकिशोर मुखिया रहेका छन् । त्यसै गरी औरही नगरपालिका कञ्चनपुर वस्ने वर्ष ३५ को सिरिया महतो, वर्ष ४० को शिवशंकर महतो, वर्ष ३० को बद्रि मुखिया र वर्ष २० को कारी मुखिया अहिले अलपत्र अवस्थामा रहेका छन् ।
गौशाला नगरपालिकामा रहेको वैदेशिक स्वरोजगार कार्यालयमा यहि साउन १२ गते मिश्रा विरुद्ध उनीहरु निवेदन दिएका थिए । त्यसपछि गौशाला ईलाका प्रहरी कार्यालयमा भदौ १९ गते उनीहरु निवेदन दिएका थिए ।
घटनाको सम्बन्धमा सत्यतथ्य बुझने प्रयासमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
सम्बन्धित न्युज
महोत्तरीमा विदेश उडाई दिन्छु भनेर चौधलाख तिस हजार रुपैया लिई एजेन्ट फरार