Tuesday 21st of January 2025

प्रियंका हत्या प्रकरण : अर्का अभियुक्त अनिष दाहाललाई पूर्पक्षमा कारागार चलान

0 Shares

सर्लाही : रानिगन्जकी प्रियंका भुजेलको बलात्कार गरी हत्या गरिएको घटनामा संलग्न रहेकामध्ये अभियुक्त अनिष दाहाललाई पूर्पक्षमा कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।

आईतवार मुख्य न्यायाधीश ध्रुव कुमार पियाको इजलाशमा भएको थुनछेक बहसपछि १९ वर्षीय दाहाललाई मुद्दाको अन्तिम फैसला नहुन्जेल पूर्पक्षमा सिन्धुली जिल्ला कारागार चलान गर्न आदेश दिएको हो । यसअघि प्रियंकाको हत्यामा संलग्न अर्का अभियुक्त १७ वर्षीय कृष्ण साहलाई पूर्पक्षका लागि वीरगन्जस्थित बाल सुधार गृह पठाइएको थियो ।

साह नाबालक नै रहेकाले बाल सुधार गृहमा पठाइएको हो । मुख्य न्यायाधीश पियाकै इजलाशले नाबालक कृष्णलाई नेपालको प्रचलित कानुन बमोजिम बाल सुधार गृहमा राख्न आदेश दिएको हो ।

लालबन्दी नगरपालिका-१७, रानिगन्जका राजेश भुजेलकी १४ वर्षीया छोरी प्रियंकाको अनिष र कृष्णले बलात्कारपछि हत्या गरेका थिए । गएको साउन ३१ गते राती घरबाटै बेपत्ता भएकी प्रियंकाको भदौ १ गते राती घरदेखि केही पर कालिन्जोर खोलामा गाडीएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरी अनुसन्धानमा अनिष र कृष्णले बलात्कार गरी प्रियंकाको हत्या गरेको स्वीकार गरेका छन् । अनिष र कृष्ण दुवै जना रानिगन्जकै हुन् । प्रियंका र ती दुई जनाबीच पहिले देखिनै चिनजान र सम्पर्क हुँदै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

हत्यापछि फरार भएका अनिष र कृष्णलाई प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित मोहनपुरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेपछि उनीहरुले नै प्रियंकाको शव गाडेको स्थान देखाएका थिए ।

बालिकाको हत्यापछि गाउँलेहरुले केहीदिन लालबन्दी र सदरमुकाम मलंगवामा प्रदर्शन गरेका थिए । मृतकको शव परिवारले एक हप्तासम्म पनि बुझ्न मानेका थिएनन् ।

प्रहरीले प्रियंकाको हत्यामा अनिष र कृष्ण नै संलग्न रहेको र उनीहरुमाथि कानुन बमोजिमको कारवाही हुने आश्वस्त पारेपछि शव भेटिएको एक सातापछि परिवारले शव बुझेर अन्त्येष्टि गरेका थिए ।

प्रतिक्रिया