Monday 2nd of December 2024

सर्पले टोकेको बालकको उपचारका क्रममा मृत्यु, स्थानीयद्वारा अस्पतालमा तोडफोड

0 Shares

पर्सा : सर्पदंशको उपचार समयमा नपाउँदा बालकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले बाराको सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका छन्।

सर्पले डसेपछि अस्पताल पुर्‍याउँदा पनि समयमा उपचार नगरि अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयले सिम्रौनगढ नगरपालिका वडा नं- ७ सिम्रौनगढस्थित नगर अस्पतालमा तोडफोड गरेका हुन्। सिम्रौनगढ नगरपालिका-२ मौवाही टोल निवासी सुमोद साहका १८ महिने छोरा अनुराज गुप्तालाई सर्पले डसेपछि सिम्रौनगढ नगरअस्पतालमा लगिएको तर त्यहाँ उपचार नभएपछि कलैया लैजाने क्रममा बाटैमा बालकको मृत्य भएको थियो।

त्यसैको आक्रोशमा बालकका आफन्त र गाँउलेले सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका हुन्। तोडफोडका क्रममा अस्पतालका कर्मचारी र स्वा‍स्थ्यकर्मी गरी ८ जना घाइते भएका छन्। घाइते हुनेहरुमा प्रयागप्रसाद कुशवाहा, रबिन हुसेन, बीरेश यादव, शम्भु प्रसाद साह, रामजीवन ठाकुर, लालबाबु मुखिया, निर्मला ठाकुर र सुरेन्द्र साह रहेका छन्।

उनीहरुको उपचार कलैया र सिम्रौनगढमा भइरहेको छ। सिम्रौनगढ नगर अस्पतालका प्रमुख डा. जितेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा भएको तोडफोडबारे जानकारी दिए।

तोडफोडबाट कम्प्युटर दुई थान, ल्यापटप एकथान, ईसीजी मेसिन एक थान, मोबाइल एक थान तथा केही औषधिहरु पनि क्षति भएको अस्पताल प्रशासनले जनाएको छ। मृतक बालकका बुवा सुमोदले आफ्नो छोराको समयमै उपचार नहुदा मृत्यु भएको बताए।

प्रतिक्रिया