जनकपुरधाम : ट्राफिक व्यवस्थापनलाई सुदृढ पार्न प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले नेपाल प्रहरीलाई सडक डिभाइडर उपलब्ध गराएको छ ।
मंगलबार पूर्वाधार विकास मन्त्री रामसरोज यादवले एक कार्यक्रमबीच प्रदेश २ प्रहरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।
तत्कालिन मन्त्री जितेन्द्र सोनलको पालामा खरिद गरिएको सडक डिभाइडर लामोसमयदेखि थन्काएर मन्त्रालय प्रांगणमा राखिएको थियो । साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर ट्राफिक व्यवस्थापनको लागि हस्तान्तरण गरेको हो ।
मन्त्री यादवले आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशन दिएका छन् ।
सो अवसरमा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।