काठमाडौं : सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी झोला उत्पादन, प्रयोग र विक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको हो।
वातावरणीय प्रदूषणको मुख्य कारण भन्दै यस्ता प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाएको मन्त्रालयको भनाइ छ।
सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमै ४० माइक्रोनभन्दा पातलो झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख गरेको थियो। सोही अनुसार गत सोमबारदेखि प्रतिवन्ध लगाएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
यसअघि पनि सरकारले काठमाडौं उपत्यकाका लागि प्रतिबन्ध लगाएकोमा सूचना संसोधन गरी ३० माइक्रोनमा झारेको थियो।
प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न, सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने सुझाव मन्त्रालयको छ।