Saturday 20th of July 2024

नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गो रेलमार्फत ढुवानी

0 Shares

पर्सा : नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गोमार्फत ढुवानी सुरु भएको छ। भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार वीरगन्‍ज आइपुगेपछि निजी क्षेत्रको ढुवानीको सुरुवात भएको हो।

नेपाल–भारत रेल सेवा सुरवातको १७ वर्षपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल मालसमानसहित वीरगन्‍ज आइपुगेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए।

हिन्द टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल ९० वटा कन्टेनर बोकेर कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिँडेको थियो। उक्त रेल बुधबार वीरगन्ज आएको हो। यसअघि भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए भने अब निजी क्षेत्रको रेल आएपछि यसले अझै नेपाली व्यापारीले सहुलियत हुने अध्यक्ष गुप्ताको भनाइ छ।

असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधनको लागि नेपाल-भारत एलओई (लेटर अफ एक्स्चेन्ज) सम्पन्‍न भएपछि निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।

हल्दियबाट खाद्यान्‍नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगन्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।