Thursday 18th of July 2024

जनगणनामा कवीरपथ धर्मको महल राख्‍न माग

0 Shares

राजकरण महतो, काठमाडौं ।  कवीरपथ धर्म सभाले राष्ट्रिय जनगणना २०७८ को फारममा कवीरपथ धर्मको महल स्पष्ट रुपमा समावेश गर्न माग गरेको छ ।

तथ्यांक विभागका उप—महानिर्देशक हेमराज रेग्मीलाई सभाले ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अरु सबै धर्म मान्ने धर्मालवलम्वी बारे जनगणनामा समावेश गरिए पनि कवीरपथ धर्म बारे कुनै खोजीनीति नभएको सभाका राष्ट्रिय अध्यक्ष सत्यनारायण आलोकले जनाए ।

‘तराई, पहाड र हिमालमा कवीरपथ धर्म मान्ने २० लाख धर्मालवलम्वी छौँ,’ आलोकले अन्नपूर्णसँग भने, ‘तर, विगतमा भएको जनगणनमा हाम्रो कवीरपथ धर्मको कुनै तथ्य, तथ्यांक छैन । हामीलाई राज्यले स्थान दिएन । यसलाई दुर्भाग्य नै भन्नु पर्छ हामी आफ्नै देशमा धार्मिक रुपमा पहिचान विहीन भएका छौँ ।’

कवीर साहबको नाममा अहिलेसम्म राज्यले कुनै बजेट नदिएको बताउँदै उनले थपे, ‘नेपालको संविधानले नेपालमा रहेका जात, जाति, धर्म, संस्कृतिहरुलाई संरक्षण सम्बद्र्धनको विकास गर्न पाउने अधिकार सुनिश्चत गरेको छ ।’

कवीर साहबको प्रकाट्य दिवस जेष्ठ पूर्णिमाका दिन कवीर जयन्ती मनाउन राष्ट्रिय विदा कायम गर्न सभाले सरकारसँग माग गरेको छ । ‘कवीरपथ धर्म विकासका लागि धर्म कोष स्थापना गरिनु पर्छ ।’

कवीर अहिंसाका पूजारी थिए। उनले ६ सय वर्ष पहिले नै समाजमा जातीपाति, छुवाछुत प्रथा नहुनु पर्ने बोलेका थिए । ‘हामी बोल्ने मगही भाषालाई पनि जनगणना महलमा राखिनु पर्छ,’ अध्यक्ष आलोकले भने । स्रोत : अन्नपूर्ण पोस्ट

प्रतिक्रिया