Monday 9th of December 2024

विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै गौशाला पोली क्लिनिक

0 Shares

गौशाला : ईर्मेजेन्सी सेवा लिनका लागि भर्ना भएका विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै आएका छन । सो क्लिनिकमा भर्ना भएका विरामीलाई तत्कालै उपचार गर्नुको सट्टा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु विमारीको उपचार गर्नुको सट्टा विल बनाउनमा व्यस्त देखिएको छ ।

उनीहरुको ध्यान उपचारभन्दा पनि पैसा कमाउनेतर्फ ध्यान मोडिएको पाईन्छ । सडक दुर्घटना होस, चाहे पेटदर्द या त प्रसवको पिडाले छटपटिएकी महिला किन नहोस् उपचार गर्ने क्रममा त्यहाँका स्वास्थ्यकर्मीहरु लापरवाही गर्दै आएको छ । यहि असोज १ गते रेडियो रुपान्तरणका रेडियोकर्मी सुस्मिता कुमारी सिंहको उपचारमा पनि त्यहाँका स्वास्थ्यकर्मीले यस्तै हर्कत देखाएका हुन् । ओफिसबाट घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परि उनको खुट्टामा गम्भीर चोट लागेको थियो ।

उनलाई तत्काल उपचारको लागि गौशाला पोली क्लिनिकमा भर्ना गराएका थिए । सिंहको उपचार गर्ने क्रममा क्लिनिकका स्वास्थ्यकर्मीले आलटाल गरेको रेडियो रुपान्तरणका अध्यक्ष नागेन्द्र साहले जानकारी दिनुभयो । उहाँले अगाडी भन्नुभयो-‘मैले त्यहाँ रहेका डाक्टरलाई छिटो उपचार गर्नको लागि आग्रह गरेको थिए । तर उनीहरु उपचारको सट्टा विल बनाउनमा व्यस्त रहयो । यता विरामी छटपटाईरहेको थियो ।

विरामीको दुवै खुट्टा सुन्निदा समेत उनीहरु घटना गराउने व्यक्तिसँग पैसाको वार्गेनिङ्ग र विल बनाउनमा व्यस्त देखिएका थिए ।’ विरामीको स्वास्थ्य अवस्था विग्रिदा समेत डाक्टरको प्रवेश विरामी नजिक हुन सकेनन् । दुर्घटनाको कारण सुस्मितालाई असहज हुन थालेपछि त्यहाँ रहेका कम्पाण्डरलाई रेडियोकर्मीहरु चाडै उपचार गराउनका लागि आग्रह गर्दा समेत कुनै सुनवाई गरेका थिएनन् । दुर्घटना गराउने व्यक्तिसँग पैसाको तालमेलमै व्यस्त रहेका ती कमाउण्डर रेडियोकर्मीसँग रुखो व्यवहारमा समेत उत्रिएका थिए ।

रेडियोकर्मीहरुले वारम्बार सेवा प्रदान गर्नका लागि गरिएको आग्रहको वेवास्ता गरिएपछि अन्त्यमा घाईते सिंहलाई उपचारको लागि अन्यन्त्र लानुपरेको थियो ।  क्लिनिकको वाहिर रहेको फलेक्स वोर्डमा एमवीवीएस र एमडी स्तरको डाक्टरहरुको नामावालीको लहर रहेका छन् । तर ईमर्जेन्सी सेवा लिने वखतमा विरामीको अवस्था हेर्नका लागि कुनै डाक्टर भेटिदैन । त्यहाँ ईमर्जेन्सी लगायत हरेक विरामीको उपचारको लागि कम्पाउन्डर र एच ए गरेकाहरु उपचारमा संलग्न रहेको पत्रकार धनवीर महतोले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘त्यस समयमा क्लिनिकमा न त नर्स थियो । न त कुनै पनि एमविविएसस्तरका डाक्टर नै । सुलभ सेवा दिने नाममा उनीहरु व्यापारमा उत्रिएका छन् ।’ क्लिनिको सामुन्ने ईलाका प्रहरी कार्यालयको भवन रहेको छ । सो क्लिनिकमा कुनै न कुनै प्रहरीको वसाई रहदै आईरहेको छ । सरल र सुलभ सेवाको नाममा प्रत्यक्ष रुपमा ठगि गर्ने यस्ता स्वास्थ्यकर्मीलाई  प्रहरीले संरक्षण दिदै आएको सेवाग्राहीको भनाई रहेको छ ।

दुर्घटनामा परेको घाईतेको उपचारको घाउचेकजाँच फर्म भर्नका लागि सरकारी अस्पतालको रेकर्ड आवश्यक हुन्छ । तर यहाँका प्रहरीले यस्ता घाईतेहरुको निजी क्लिनिकमा गरेको उपचारको मान्यताको विषय शंकास्पद रहेको छ । गौशाला नगरपालिकाको सवैभन्दा ठूलो एवम् व्यवस्थित प्रथामिक स्वास्थ्य केन्द्र नजिकमै भएतापनि दुर्घटना हुने बखतमा उपचारको लागि घाईतेहरुलाई त्यहाँ लानुको लागि प्रहरीले शिफारिस नगर्नु रहस्य बन्दै गएको छ ।

प्रतिक्रिया