जनकपुरधाम : यातायात व्यवस्था कार्यालय जनकपुरमा दिनभरी लाइन लागेपनि काम नहुदा सेवाग्राही समस्यामा परेका छन् ।
कार्यालयमा बुधबार बिहानै देखि घुइचो थियो । कार्यालय परिसरको भिडमा सवारी चालक अनुमति पत्रको (बायोमेट्रिक) दर्ता गर्नेहरु पनि थिए । उनीहरु घण्टौ सम्म लाइन लागे । काम नहुदा पटक पटक कार्यालय परिसरमा विवाद समेत भयो ।
सर्भरमा आएको समस्याका कारण सवारी चालक अनुमति पत्र दर्ता नहुँदा सेवाग्रही कर्मचारी बिरुद्ध खनिएका थिए । कार्यालय खुल्न साथ सर्भर बिग्रिएका कारण सेवाग्राहीलाई २ बजेका लागि बोलाएका थिए । घण्टौ लाइनमा लागेका सेवाग्राही कर्मचारीको आश्वसन पाएपछि २ बजे सम्म कार्यालय परिसरमै समय बिताए । तर, सरर्भ २ बजेपछि पनि नचल्दा उनीहरु कार्यालय प्रमुख विरेन्द्र साहमाथि खनिए ।
कार्यकक्षमा आएका आक्रोसित सेवाग्रहीकै अगाडीबाट कार्यालय प्रमुख साहले यातायात व्यवस्था विभागका कर्मचारीलाई पटक पटक फोन लगाए । प्रमुख साहको फोन कसैले उठाएन । सरर्भ बनाउने र चलाउने केन्द्रबाटै हुन्छ, आक्रोसित भिडलाई सम्झाउदै साहले भने,‘सर्भर हाम्रो नियन्त्रणमा छैन । सर्भरका कारण काम अबरुद्ध भएको छ ।
हामी काम गर्न हरसम्भव प्रयास गर्छौ । केन्द्रमा हाम्रै फोन उठाउदैन । म संग अन्य कुनै विकल्प छैन ।’ यातायात कार्यालय प्रदेश मन्त्रालय मातहत रहेपनि सर्भर संघीय सरकारबाटै चलेकोले भन्न साथ समस्या समधान गर्न सकिदैन, उनले भने । सर्भर ठिक नभएपछि दिन भरी यातायातमा लाइन लागेका सेवाग्राहीलाई असोज ११ गते आउन सुचना प्रकाशित गरेको साहले बताए ।
यातायात कार्यालय प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगत राखिएको छ । तर, यातायात कार्यालयले दिने सेवाहरुको नियन्त्रण संघमै राखिदा कार्यालयको सेवा सुधार गर्न समस्या भएको छ । सर्भर नियन्त्रण, चालक अनुमति पत्र छपाइमा संघबाट ढिलासुस्ती हुँदा यातायात कार्यालयको सेवा दिनहु प्रभावित भएको छ ।
सवारी चालक अनुमति पत्रकालागि महिनौसम्म सेवाग्राही कार्यालय आएपनि अनुमति पत्र दिन नसकेको कार्यालय प्रमुख साहले बताए । चालक अनुमति पत्रको लागि राजश्व बुझाएको २ वर्ष सम्म पनि सेवाग्राहीले अनुमति पत्र पाउने अवस्था छैन, उनले भने ।