Saturday 20th of July 2024

लागूऔषध राखेर पत्रकार ‘फसाइएको’ घटना : मुख्य अभियुक्त फरार हुँदा छानबिन अपूरो

0 Shares

काठमाडौं : रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउन प्रहरीकै योजनामा लागूऔषध राखिएको घटनाको छानबिनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।

गत साउन ३२ गते गौरबाट पत्रकार मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको घटनामा रौतहटका तत्कालीन एसपी सिद्धिविक्रम शाहको समेत शंकास्पद भूमिका देखिएपछि छानिबिन सुरु गरिएको थियो। प्रहरी प्रधान कार्यालयले भदौ ८ गते एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेपनि अहिलेसम्म छानबिनले पूर्णता पाउन सकेको छैन।

छानबिन समितिका एक सदस्यका अनुसार ‘निर्दोष’ पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने मुख्य योजनाकार भनिएका सञ्जय सहनी फरार रहेकाले छानबिनले पूर्णता पाउन नसकेको हो। समिति स्रोत भन्छ, ‘फरार सहनी र एसपीबीचको फोन रेकर्ड बाहिरिएपछि एसपी विवादमा तानिएका हुन्। तर, एसपी विवादमा तानिनुका मुख्य योजनाकार नै अहिलेसम्म पक्राउ नपर्दा छानबिन पूर्ण हुन सकेको छैन।’

एसपी शाहको बयानमात्रै लिँदा एकपक्षीय हुने र छानबिन निष्पक्ष र पूर्ण नहुने भन्दै अहिलेसम्म समितिले छानबिन टुंग्याउन सकेको छैन। प्रहरी प्रधान कार्यालय भने समितिले छानबिन सकेर बुझाउने प्रतिवेदनको आधारमा कारबाही वा सफाई हुने भनेर कुरेर बसेको छ। मुख्य अभियुक्त भनिएका सहनी एक महिनादेखि फरार भएकाले एसपी शाहले सफाइ पाउने वा कारबाही हुने भन्ने अहिलेसम्म टुंगो लाग्न नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।

‘निर्दोष’ पत्रकार फसाउने घटनामा शंकास्पद भूमिका देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी शाहलाई जिम्मेवारी खोसेर हेडक्वार्टर तानेको थियो। अहिले उनको ठाउँमा एसपी विनोद घिमिरेलाई पठाइएको छ।

बिदामा हुँदा पनि आफैंले अपरेसन हेर्नु शंकास्पद !
साउन ३२ गते पत्रकारद्धयको मोटरसाइकलमा लागूऔषध राखिएको समयमा एसपी शाह भने आफैं बिदामा थिए। बिदामा रहेका बेला पनि उनले उक्त अपरेसनको बारेमा सम्पूर्ण जानकारी लिने प्रबन्ध मिलाएको पाइएको छ।

‘आफू बिदामा भएको बेलामा सम्पूर्ण जिम्मेवारी ट्वाइसी (सेकेन्ड म्यान)लाई सुम्पिनु पर्ने हुन्छ। तर, एसपी शाहले यस घटनाका बारेमा सेकेन्डम्यानलाई कुनै जानकारी दिएको भने देखिँदैन’, छानबिन समितिमा रहेका एक अधिकारीले नेपाल लाइभलाई सुनाए, ‘यो विषयमा भने उनको भूमिका शंकास्पद देखिन्छ।’

यो बाहेक अन्य विषयमा भने एसपीको कुनै दोष नदेखिएको ती अधिकारीको भनाइ छ। ‘सहनी र एसपीको जुन फोन रेकर्ड बाहिरिएको छ, त्यसमा भने ‘निर्दोष’ पत्रकार फसाउने सहनीको योजनाबारे एसपी जानकार भएको देखिँदैन’, उनले भने।

लागूऔषधसहित पक्राउ परेको भनेपछि पत्रकारद्वयले त्यसबेला आफूहरू ‘निर्दोष’ रहेको बताएका थिए। पछि महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो। सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागूऔषध राखेको देखिएको थियो। त्यसपछि घटनामा नयाँ ट्वीस्ट आएको थियो। पहिला पक्राउ गरिएका पत्रकारलाई एसपी शाहले रिहा गर्दै लागूऔषध राख्ने दुई युवा र दुई प्रहरीलाई पक्राउ गरी सार्वजनिक गरेका थिए। सञ्जय सहनीलाई भने फरार अभियुक्त भएको बताइएको थियो।

त्यसपछि उनै सहनीले एसपीसँगको फोन रेकर्ड सार्वजनिक गरेका थिए। त्यसपछि एसपी शाह पनि विवादमा तानिए।

प्रहरीकै अघि मोटरसाइकल देखाएर लागूऔषध राखियो
पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोशाकका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज यादवले आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले लागूऔषध राख्ने व्यक्ति माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको बताएका छन्।

उनीहरूकै सुराकमा पत्रकारद्वयलाई लागूऔषधसहित पक्राउ गरिएको उनीहरूको भनाइ छ। फसाउने योजनासहित लागूऔषध राखिएको बारेमा आफूहरूलाई जानकारी नभएको उनीहरूले दाबी गर्दै आएका छन्। तर, अनुसन्धानका क्रममा असई र जवानकै अघि पत्रकारद्वय सवार हुने मोटरसाइकल देखाएर पछि लागूऔषध राखिएको पाइएको छ।

‘उनीहरूले फसाउने योजनासहित लागूऔषध राखिएकोबारे आफूहरूलाई थाहा नभएको दाबी गरे पनि अनुसन्धानका क्रममा भने त्यस्तो देखिँदैन’, प्रहरी स्रोत भन्छ, ‘लागूऔषध राख्नुभन्दा पहिला पत्रकार सवार मोटरसाइकल असई र जवानलाई देखाएको पाइन्छ। यो मोटरसाइकलमा लागूऔषध छ भन्ने जानकारी दिएपछि उक्त मोटरसाइकलको उनीहरूले निगरानी गर्नुपर्थ्यो। तर, उनीहरूकै निगरानीमा रहेको मोटरसाइकलमा योजनावद्ध तरिकाले लागूऔषध राखिन्छ भने यसमा उनीहरूको भूमिका शंकास्पद देखिन्छ।’

शंकास्पद वस्तु वा मान्छे देखाइसकेपछि त्यसलाई निगरानी गर्नुपर्नेमा त्यो घटनाबारे नै अनभिज्ञ बन्न खोज्नुले असई र जवानको मिलेमतो रहेको आशंका देखिएको प्रहरी स्रोत बताउँछ।

एक महिनासम्म मुख्य अभियुक्त फरार
उक्त घटनाका मुख्य अभियुक्त हुन् सञ्जय सहनी। पत्रकार महासंघ रौतहट शाखाका सचिव समेत रहेका सहनीकै योजनामा ‘निर्दोष’ पत्रकारलाई फसाउने योजनासहित लागूऔषध राखिएको अनुसन्धानबाट खुलेको थियो।

त्यसका लागि उनले रौतहटमा कार्यरत सादा पोशाकका प्रहरीलाई समेत प्रयोग गरेका थिए। पत्रकारद्वयलाई योजनाबद्ध तरिकाले लागूऔषधसहित पक्राउ गर्न सफल भएपछि सहनीले रौतहटका तत्कालीन एसपी शाहलाई समेत फोन गरेर उक्त घटनाबारे जानकारी गराएका थिए। त्यसपछि एसपी शाह पनि विवादमा तानिएका थिए।

यो घटनाका मुख्य योजनाकार उनै सहनी एक महिनादेखि फरार छन्। यसबारे रौतहटका एसपी विनोद घिमिरे भन्छन्, ‘उनी अहिलेसम्म फरार नै छन्। उनको खोजी जारी छ।’

पक्राउ परेका दुई प्रहरीसहित चारजनामाथि अनुसन्धान भने जारी छ। ‘लागूऔषधको मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने प्रावधान भएकाले सोही अनुसार मिहिन रुपमा हामीले अनुसन्धान गरिरहेका छौं’, एसपी घिमिरे भन्छन्, ‘घटनामा मुख्य अभियुक्त पक्राउ नपर्दा यथार्थ सिन आउन सकेको छैन।’

प्रतिक्रिया