Thursday 18th of July 2024

सम्झौता अगावै पुल

0 Shares

मनिका झा

जनकपुरधाम / प्रायःजसो ठेकेदारहरूले सम्झौता अवधिभन्दा निकै लामो समयसम्म पनि निर्माण कार्यहरू सम्पन्न नगर्दा थुप्रै सडक, पुल र भवनहरू अलपत्र परेका हुन्छन्। तर, धनुषाको औरही खोलामा एउटा निर्माण कम्पनीले सम्झौताभन्दा सात महिना अगावै तीनवटा पुलको निर्माणकार्य सम्पन्न गरेर निकै प्रशंसा पाएको छ।

ढल्केवर-जनकपुर-जटही सडक खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदा नै तीन वटा पुल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

ढल्केवर-जनकपुर-जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो। सडक विस्तार भएदेखि सवारीसाधनको चाप बढेको थियो।  भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन÷ तीन वटा पुल बनेपछि सवारीसाधनलाई आउजाउ गर्न सहज भएको स्थानीय बताउँछन्।

सरकारसँग भएको सम्झौताअनुसार २०७८ चैत्र मसान्तमा तीनवटै पुल हस्तान्तरण गर्नुपर्ने थियो। तर, काम सम्पन्न हुनुपर्ने मितिभन्दा सात महिना अगाडि नै  ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सकिएको हो। नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भई  मंसिरदेखि  काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेल बताउँछन्।

‘सही समयमा काम सिध्याउनुपर्छ भनेर हामीले पहिला नै सोच बनाएका थियौं। हाम्रो सोचअनुसार नै म्यानपावर र अन्य प्राविधिक कुराहरू पनि जुट्यो र समय अगावै पुल बनाउन सफल भयौं,’ इन्चार्ज ढुंगेलले भने।

औरही खोलामा निर्माण सम्पन्न  तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि प्रयोग गरिएको छ। एउटा पुललाई सर्भिस लेनको रूपमा राखिएको छ। पुलको लम्बाइ १ सय ४३ दशमलव ५ मिटर र चौडाइ ११ दशमलव ६ मिटर छ।

सो पुलबाट एकैपटक एकातिरबाट तीन वटा सवारी साधन चलाउन सकिन्छ। छुट्टाछुट्टै लेनका लागि फरकफरक पुल नेपालमा पहिलो पटक निर्माण गरिएको हो । ठेक्का लिएर पनि समयमा निर्माण सम्पन्न नगर्ने परिपाटी बढिरहेको बेला औरही खोलाको पुल उदाहरणीय बनेको ६ लेन सडक ढल्केवर जनकपुर जटही कार्यालयका निमित्त प्रमुख रामदयाल यादव बताउँछन्। ‘सम्झौता सक्नुभन्दा अगावै गुणस्तरीय निर्माणको काम गरेको निर्माण कम्पनी प्रशंसाको पात्र बनेको छ,’ यादवले भने। –अन्नपूर्णापोष्ट 

 

प्रतिक्रिया