Saturday 20th of July 2024

जनकपुर यातायात कार्यालयमा भित्रैबाट सेटिँग, लिखितको नतिजा नआउँदै भोली सीधा ट्रायल

0 Shares

जनकपुरधाम : पटक–पटक विवादमा रहँदै आएको जनकपुर यातायात कार्यालयमा कर्मचारीको सेटिँगको पोल खुलेको छ ।

तीन दिनअिघ नै चारचक्के (चार पाँग्रा) सवारीको लागि लिइएको लिखित परीक्षाको रिजल्ट अहिलेसम्म प्रकाशित नै नगरी भोली शनिबार ट्रयाल लिने तयारी गरेको व्यापक गुनासो आएको छ ।

परीक्षा सम्पन्न भएकै दिन अथवा भोलीपल्ट लिखित परीक्षाको रिजल्ट प्रकाशित गर्नुपर्नेमा यातायात कार्यालय जनकपुरले भित्रैबाट सेटिँग गरी मोटो रकम दिनेलाई पास गर्ने सेटिँग गरेको आरोप लगाइएको छ ।

लिखित परीक्षा सम्पन्न भएपछि कार्यालय बाहिर परीक्षाको नतिजा प्रकाशित गरी टाँसिदै आएको छ । तीन दिन अघि नै दुई पाँग्रे (मोटरसाईकल, स्कुटर) को लिखित परीक्षाको रिजल्ट टाँसिएपनि चारचक्केको रिजल्ट गोप्य नै राखिएको छ ।

भोली बिहान ७ बजेदेखि नै बोलाईएको ट्रायलको लागि कम्तीमा पनि एक दिन अघि नै नतिजा सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म नतिजा सार्वजनिक नै नगरी ट्रयाल लिने तयारी गरेपछि शँका उपशँका उब्जिएको हो । कर्मचारी र चालकबीच मोटो रकमको लेनदेन हुन सक्ने अनुमान गरिएको छ ।

यता, सो सन्दर्भमा यातायात कार्यालय जनकपुरका निमित्त प्रमुख बीरेन्द्र कुमार साहले नतिजा अस्ती नै प्रकाशित भइसकेको दाबी गरे । उनले सुरक्षा गार्ड (पाले) लाई रिजल्ट टाँस्नको लागि दुईटा फाईल दिएपनि उनले लापरवाही गरेको दाबी गरे ।

प्रमुख साहका अनुसार, परीक्षा सम्पन्न भएपछि नै मोटरसाईकल र चारपाँग्रेको समेत गरी दुई वटा फाईलमा रिजल्ट टाँस गर्न दिएपनि मोटरसाईकलको टाँसेको र चारपाँग्रेको बिर्सेको बताए । साहका अनुसार, फाईल लिने गार्ड पनि आफ्नो गाउँ गइसकेको बताए ।

यद्यपी, उनले शनिबार बिहान ४ बजे नै रिजल्ट टाँस गरिने पनि बताए । यता, यातायात कार्यालय जनकपुरको कार्यालय न्यूज ब्यूरोकर्मी करिब ८ बजे राती पुग्दा सुरक्षा गार्ड (पाले) भने त्यही देखियो ।

शनिबार हुने ट्रयालको लागि को–को पास भएको भनेर कसरी बुझ्ने भनेर अझै यकिन भएको छैनन् । लिखितमा पास भएपछि मात्र ट्रायलमा सहभागी हुन पाउने प्रावधान रहेपनि लिखितको नतिजा बिना नै सीधा ट्रायलमा सहभागी गराउन लागिएको बुझिएको छ । स्रोत : न्यूजब्यूरो

प्रतिक्रिया