Thursday 18th of July 2024

विश्वासको मत लिदै प्रदेश २ः का मुख्यमन्त्री राउतले आज

0 Shares

जनकपुरधामः प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिदै छन् । असोज २० गते बुधवार विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।

गत बुधबार (असोज १३गते) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निणर्य गरेको थियो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधान अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । २० असोजदेखि नै प्रदेशसभाको ७ औं अधिवेशन आह्वान गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । ९ भदौ मै जनता समाजवादी पार्टी ‘जसपा’ विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।

तर, जसपाले जनप्रतिनिधि हरूलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

अहिले प्रदेश २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुई तिहाई भन्दा बढीको बहुमत रहेको छ ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले दावी गरे ।

प्रतिक्रिया