Friday 12th of April 2024

कोहलीको कीर्तिमान : टी–२० मा ३ हजार रन बनाउने पहिलो खेलाडी

0 Shares

एजेन्सी/ कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान ईशान किशनको विष्फोटक ब्याटिङको मद्दतले भारतले इङ्ल्याण्डलाई टी–२० शृङ्खलाको दोस्रो खेलमा ७ विकेटले पराजित गरेको छ । योसँगै कोहली विश्वमा टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ३ हजार रन बनाउने पहिलो खेलाडी बन्न सफल भएका छन् । उता, ईशानले डेब्यू खेलमा ४ छक्का हिर्काए । उनी यसो गर्ने पहिलो भारतीय हुन् ।

खेलमा कोहलीले ४९ बलमा नटआउट रहँदै ७३ रनको योगदान दिए । हालसम्म ८७ टी–२० मा ५०.८६ को औसतले उनले ३ हजार १ रन बनाएका छन् । न्यूजील्याण्डका मार्टिन गुप्टिल ९९ खेलबाट २ हजार ८३९ रन बनाउँदै दोस्रो स्थानमा रहेका छन् ।

टी–२० सबैभन्दा पहिले १ हजार र २ हजार रनको आँकडा न्यूजिल्याण्डका ब्रेन्डन म्याकलमले पार गरेका थिए । सन् २०१० मा उनी १ हजार रन बनाउने पहिलो खेलाडी बनेका थिए भन सन् २०१४ मा उनले २ हजार रन पुरा गरे । सन् २०१९ मा उनले सन्यास लिइसकेका छन् ।

त्यस्तै, कप्तानका रुपमा कोहलीले तीन फर्म्याट (टेस्ट, वानडे र टी–२० मा १२ हजार रन पुरा गरेका छन् । कप्तानका रुपमा सबैभन्दा धेरै रन बनाउनेमा उनी तेस्रो नम्बरमा छन् । १५ हजार ४४० रनसहित अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ शीर्ष स्थानमा रहेका छन् ।

उता, ईशानले ३२ बलमा ५६ रन बनाए । पहिलो टी–२० खेलमा ५० रनभन्दा बढी बनाउने उनी दोस्रो भारतीय हुन् । यसअघि अजिंक्य रहानेले यो उपलब्धि हासिल गरेका थिए ।

प्रतिक्रिया