Friday 12th of April 2024

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

0 Shares

काठमाण्डौ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गएराति १ बजे निधन भएको छ।

उहाँको विराटनगरमा रहेकाे न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो ।

कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।

पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँको आज दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ । आजै विराटनगरको हाटखोलामा रहेकाे विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिनुभयो ।

उहाँको अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, डा. डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी हुने सचिव रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया