गौशाला / महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्रको समुदघाटन भएको छ । आईतबार एक समारोेहकाबीच पूर्वमन्त्री गिरीराजमणि पोखरेलले सो आरोग्य सेवा केन्द्रको उदघाटन भएको हो । आयुर्वेदपद्धतिमार्फत उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो ।
नागरिक आरोग्य केन्द्रले योग र साधनामा केन्द्रित भई सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ । उदघाटन सत्रलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री पोखरेलले भन्नुभयो—“वर्तमान परिवेशमा सर्वप्रथम मानवलाई जीवनपद्धति परिवर्तन गर्नु अतिआवश्यक रहेको छ । अहिले योग र ध्यानमा समय खर्चिने हो भने मानव अवश्य नै स्वथ्य रहनेछ ।”
मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि तीनैतहका सरकारले योजना ल्याउनुपर्नेमा जोड दिनुहुँदै पूर्वमन्त्री पोखरेलले अगाडि थप्नुभयो—“अव नागरिक आरोग्य केन्द्रले योग र ध्यानमा केन्द्र्रित भई जनचेतना जगाउनुपर्नेछ । जसले ऋतु परिवर्तन भएलगतै योग शिविरको आयोजना गर्नुपर्नेछ । यहाँका विद्यालय, बैक लगायतका संस्थाहरुमा योग शिविरको आवश्यकता रहेको छ । यसको साथै भान्छाघर केन्द्रित भई स्वच्छ खाना बनाउने अभियानमा गृहणीलाई सामेल गरिपर्ने आवश्यकता रहेको छ ।”
उहाँले स्थानिय किसानहरुलाई कम्तीमा पनि २० प्रतिशतको हाराहारीमा जडिवुटि खेती गर्नका लागि आग्रह गर्नुभएको छ ।
सोहीवीच गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले यस सेवा केन्द्रलाई नमुना औषधालयको रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभएको छ । नगरपालिकाले पंचकर्ममा आधारित भई सेवाकेन्द्रको आवश्यकता महसुस गरेको सोहीवीच मेयर महतोले बताउनुभयो ।
गौशाला नगरपालिकाको पुरानो भवनमा संचालित सो नागरिक आरोग्य केन्द्रले नियमित रुपमा जनमुखि सेवाप्रदान गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्द किशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।