Tuesday 21st of January 2025

७७ वटै सीडीओलाई गृहको निर्देशन- क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्नू

0 Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण फेरि फैलिने जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लामा क्वारेन्टिन र आइसोलेशन सेन्टरहरु तयारी अवस्थामा राख्न मातहत निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी क्वारेन्टिन र आइसोलेसन सन्टेरहरु तयारी अवस्थामा राख्न भनेको हो ।

कोरोना भाइरस संक्रमणको पहिलो लहर शुरु हुँदा गत वर्ष देशभर क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु बनाउन थालिएको थियो ।

तर, पछिल्लो समय संक्रमण आशंका गरिएका व्यक्ति र संक्रमित व्यक्ति कम हुँदै गएपछि क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु खाली हुँदै गएका थिए ।
गृह मन्त्रालयले यसअघि प्रयोगमा आएका क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे रिपोर्ट गर्न पनि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोमबार नै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन भनेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना भाइरसको संक्रमितहरु बढेकाले नेपालमा समेत त्यसको असर पर्नेसक्ने भएकाले सककर्ता अपनाउन सार्वजनिक अपिल गरेपछि गृह मन्त्रालयले समेत तयारी थाल्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सामाजिक दूरीको पालना गराउन, अनावश्यक भीड रोक्न, सीमा क्षेत्रमा हुने अनावश्यक आवत-जावत रोक्न पनि निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशन पछि सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न थालिएको छ ।

यस्तै, नजिकिँदै गरेको होली पर्वलाई समेत लक्षित गर्दै विभिन्न जिल्लामा आंशिक निषेधाज्ञाहरु जारी गर्न थालिएको छ ।

गृह मन्त्रालयले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली तथा विदेशीको विवरण समेत संकलन गर्न निर्देशन दिएको छ ।

नेपाल-भारत नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर शंकास्पद अवस्था नदेखिए मात्रै प्रवेश अनुमति दिन भनिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया