काठमाण्डाै / फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ ।
बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।
घटनामा बाग्लुङको निसीखोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको पुष्टि भएको उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भन्नुभयो-‘बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो गर्ने चलन रहेछ । त्यहीअनुसार हिजो त्यहाँ मानिसहरु भेला भएका रहेछन् । तर रमाइलो गर्दै गर्दा झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ ।’
उहाँका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । घटनामा केही सम्पर्कविहीन भएका आशङ्का गरिएकाले खोजी भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप जानकारी आइसकेको छैन । अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनु भएको छ । सभार : उज्यालो