भारतले नेपाललाई दिएको कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

काठमाडौं : भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप आजबाट उपलब्ध गराउने भएको छ ।

भारतको मुम्बईस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्रालयले नै छिमेकी मुलुकलाई खोप दिन लागेको हो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार नेपाललगायत छिमेकी बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको हो ।

औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो ।

प्रतिक्रिया