Thursday 10th of October 2024

नेपाललाई स्वदेशी भूमिमा ३७ वर्षपछि उपाधि

0 Shares

काठमाडौं – नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल स्वदेशी भूमिमा ३७ वर्षपछि च्याम्पियन बनेको हो ।

नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यति बेला दक्षिण एसियाली खेलकुद महासंघ (साग)मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । समग्रमा नेपालको यो पाँचांै उपाधि हो । यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो ।

प्रशिक्षक बालगोपाल महर्जनको कप्तानीमा गतवर्ष नेपालले सागको उपाधि जितेको हो । नेपाललाई थ्री नेसन्स कपको च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

बंगलादेशका महाबुबुरले दोस्रो हाफमा एक गोल फर्काए । खेलको १३औं मिनेटमा सुनिलको क्रस बल त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेपछि बललाई बंगलादेशका डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाई अनिसुर रहमानले बचाए । १८औं मिनेटमा सन्जोक राईले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए ।

सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । बंगलादेशविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन् ।

३०औं मिनेटमा अन्जन विष्टले गोलरक्षक अनिसुर रहमानलाई बिट गर्दै गरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्नबाट चुक्यो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दबाबमा राखे पनि थप गोल गर्न नसक्दा एक गोल बेहो¥यो । ७१औं मिनेटमा विशाल राईको पासमा सब्सिच्युट रविशंकर पासवानले डि बक्समा भेट्न सकेन । ८३औं मिनेटमा सब्सिच्युट महावुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो ।

च्याम्पियन बनेपछि नेपाली टोलीका प्रशिक्षक विराज महर्जनले यो जितको श्रेय टिम सहयात्री र समर्थकलाई जाने बताए । ‘यो सय दिनको प्रशिक्षणको सफलता हो । मैले आइतबार नै खेल केही फरक हुने बताएको थिए । आज त्यहीअनुसार खेल भयो । हामी सफल भयौं । खुसी र सन्तुष्ट छु ।

विश्वकपको तयारीमा पनि यसरी नै जानेछौं’, प्रशिक्षक महर्जनले भने । फाइनलमा बंगलादेशविरुद्ध दुई गोल गरेसँगै नेपालले आठौं अन्तर्राष्ट्रिय खेलमा गोलको खडेरी अन्त्य गरेको छ । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपाल पछिल्लो १८ महिनामा ७ खेलमा गोलविहीन बनेको थियो । च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

विजयी नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले च्याम्पियन ट्रफीसँगै मेडल र प्रमाणपत्र प्रदान गरे । विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

सन्जोकको ‘डेब्यु’ गोल मिडफिल्डर सन्जोक राईले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेका छन् । थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्ध गोल गर्दै उनले सिनियर राष्ट्रिय टोलीबाट गोल गरेका हुन् ।

उनले सिनियर टोलीबाट डेब्यु गरेको दोस्रो खेलमै अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका हुन् । थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध १४ चैतमा दशरथ रंगशालामा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका सन्जोकले बंगलादेशविरुद्धको आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमै गोल गर्न सफल भएका हुन् । प्रशिक्षक बालगोपाल महर्जनको नजरमा परेका २२ वर्षीय सन्जोकले नेसन्स कपको सबै तीन खेलमा सुरुवाती रोजाइमा मौका पाएका थिए ।

सन्जोक ‘ए’ डिभिजनको रुस्लान थ्री स्टार क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन् । २२ वर्षीय सन्जोक गतवर्षको लिगमा ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । सन्जोक नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्ससँग १ लाख रुपैयाँमा अनुबन्धित भएका छन् ।

प्रतिक्रिया