नेकपा एकीकृत समाजवादीका मधेस प्रदेशसभा सदस्य एवं कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने तयारी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न उनले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।
उनले आजै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा दिने बुझिएको छ । रातोपाटीले राजीनामाबारे जिज्ञासा राख्दा मन्त्री यादवले भने, ‘हामी छलफलमा छौं, राजीनामा दिनसक्छ तर अहिले नै टुङ्गो लागिसकेको छैन ।’
सिरहा नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत समाजवादीले उनको नाम सिफारिस गरेको छ । उनी चुनाव लड्न तयार छन् । वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएकाले उम्मेदवारी दिने अवस्थामा आज या भोलिसम्म यादवले मन्त्री तथा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुपर्नेछ ।
मन्त्री यादवले भने, ‘सिरहा नगरपालिकाका जनताको चाहना पनि प्रमोद यादव मेयरमा आओस् भन्ने छ, मैले यस विषयमा यहाँका मतदातासँग पनि संवाद गरेको छु, सबैले नगरपालिकामा आउन भन्दैछन् त्यसैले यस्तो निर्णयमा पुग्न बाध्य भएको छु ।’
जसपाका मेयर अशेश्वर यादव यसअघिको स्थानीय चुनावमा ९ हजार २३४ मत ल्याएर सिरहा नगरपालिकामा विजयी भएका थिए भने एमालेका नविन यादवले ९ हजार ६३ मत ल्याएका थिए । अहिले एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनिसकेको छ । प्रमोद यादव नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेदवार बन्ने तरखरमा छन् ।
उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट प्रदेशसभामा सिरहा क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित भएका थिए ।
सिरहा नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलको तयारी छ । माओवादी केन्द्रका नेता एवं मेयरका आकांक्षी महेश यादवका अनुसार नेकपा एकीकृत समाजवादीलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर दिनेगरी तालमेलको तयारी भइरहेको छ ।
यद्यपि माओवादी केन्द्र सिरहा जिल्ला कमिटीले मेयरका लागि मनोज यादव र महेश यादवको नाम सिफारिस गरेको छ । पाँचदलीय गठबन्धनको विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन । सबै दल आआफ्नो तरिकाले अगाडि बढेपछि आफूहरु पनि नेकपा एकीकृत समाजवादीसँग गठबन्धन बनाएर चुनावमा जाने तयारीमा लागेको माओवादी केन्द्रका महेश यादवले बताए ।
सिरहा नगरपालिकामा एमालेबाट नविन यादव उम्मेदवार बनेका छन् । उनी एमालेका पुराना नेता हेमनारायण यादवका छोरा हुन् । काँग्रेसले सिरहा नगरपालिकाकाको मेयरका लागि संजय यादवको नाम अघि सारेको छ । रातोपाटी