Friday 20th of September 2024

पर्सामा वीरगञ्जबाहेक अन्य पालिकामा गठबन्धनबीच तालमेल नहुने

0 Shares

वीरगञ्ज ः पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो ।

अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो ।

जिल्लाका शीर्ष नेताहरूसहित बैठक बसेर कांग्रेले १४ वटै पालिकामा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो । जिल्लाबाट लाद्नेभन्दा पनि तल्लो कमिटीबाट मिल्न प्रोत्साहन गर्नेर्े सहमति दलहरुबीच भएको थियो ।

पछि कांग्रेसले गठबन्धन घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा)सँग मात्रै बैठक बसेर पर्सामा दुवै दल ‘मित्रवत् प्रतिस्पर्धा’मा जाने निर्णय गर्‍यो ।

कांग्रेसमा स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार दिने आकांक्षी बढी देखिएका छन् । साथै ०७४ सालमा जितेको र हारेको दुवै ठाउँमा आफूले जित्ने अडकलबाजी कांग्रेसमा देखिन्छ ।

वीरगञ्ज महानगरमा केन्द्रले नै तालमेल गर्ने निर्णय गरेका कारण कांग्रेस अप्ठेरोमा परेको छ । तल्लो तहबाट तालमेल नगर्न चर्को दबाब खेपिरहेको छ ।

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि अहिलेसम्म वीरगञ्ज महानगरपालिकामा मात्रै चुनावी तालमेल गर्ने बताएको छ ।

केन्द्रमा जस्तै जिल्ला र पालिकास्तरमा पनि पाँच दलीय गठबन्धनको संयोजन गर्ने जिम्मा नेपाली कांग्रेसलाई छ । नेता कार्यकर्ताहरू एक्लै निर्वाचनमा जान चाहेपछि उसले गठबन्धनलाई खासै चासो दिइरहेको छैन ।

महानगर भाग लगाउनुअघि पाँच पटकजति बैठक बसे पनि पछिल्ला दिनमा गठबन्धन आवद्ध दलहरूबीच बैठक भएको छैन ।

वीरगञ्जमा केन्द्रको निर्देशन बमोजिम चुनावी तालमेल गर्नुपर्ने बाध्यता सबै दललाई छ । तर, अन्य पालिकामा उनीहरु गठबन्धन दलहरुबीच नै मित्रवत् प्रतिस्पर्धा गर्न चाहान्छन् ।

अन्य पालिकामा गठबन्धन हुन नसक्ने गठबन्धनको संयोजक दल नेपाली कांग्रेसका पर्सा सभापति जर्नादन सिंह क्षेत्रीले बताए । ‘वीरगञ्जमा पार्टीको निर्णय मान्नै पर्ने हुन्छ, अन्य पालिकामा गठबन्धनका दल चुनाव लड्न स्वतन्त्र छन् । एक्ला एक्लै लड्ने हा’ उनले भने ‘गठबन्धन हुने भए त अहिलेसम्म बैठक भइसक्ने थियो नी सबैलाई थाहा छ हुँदैन भनेर त्यसैले कसैले चासो राखेको छैन, मैले पनि चासो दिएको छैन ।’

केन्द्रको सहमतिमा पनि अन्तिम बुँदामा सहमति भएन भने मित्रवत् प्रतिस्पर्धा गर्ने उल्लेख रहेको उनले बताए । ‘अहिले को मान्छ रु पार्टीभित्र त मिलाउन गाह्रो छ । गठबन्धन नगर्न कार्यकर्ताको दबाब बढी छ । टिकट वितरणका लागि हम्मेहम्मे छ’ उनले भने ।

जसपाका जिल्ला अध्यक्ष राम नरेश यादव वीरगञ्ज बाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने स्थिति नदेखिएको बताउँछन् । उनले तीन वटा पालिकामा कांग्रेस बाहेक गठबन्धनका अन्य दलसँग तालमेल गरेर जानेगरी तयारी भइरहेको बताए ।

पर्सागढी नगरपालिका, पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वडासम्म नै तालमेलका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

अनलाइन खबर

प्रतिक्रिया