Friday 4th of October 2024

अवैध सम्बन्ध लुकाउन अबोधछोरीको हत्या

0 Shares

राजविराज । परपुरुषसँगको अवैध सम्बन्धबारे पोल खुल्ने डरले दुई वर्षीय अवोध छोरीलाई नदीमा फालेर हत्या गरी फरार भएकी एक महिलालाई घटनाको पाँच वर्षपछि पक्राउ गरिएको छ ।

श्रीमान् सूर्यनारायण मण्डल रोजगारीको सिलसिलामा विदेश रहेका बेला गाउंकै एक परपुरुषसँग अवैध सम्बन्ध कायम गरेकी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ की २७ वर्षीया रानी मण्डलले दुई वर्षीया छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् । उनलाई गोप्य सूचनाको आधारमा विहीबार राजगढ गाउाँंलिका– ५को एक घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । २०७३ साल साउन १२ गते राती रानीले आफ्नै दुई वर्षीया छोरी प्रमिलालाई खाँडो खोलामा आएको बाढीमा फ्यालेर हत्या गरेको प्रहरीको अनुसन्धानले खुलेको छ । विदेशमा रहेका श्रीमान् घर फर्किन लागेको र परपुरुषसँगको अवैध सम्बन्धबारे छोरीमार्फत खुलासा हुने डरले खाँडो नदीमा लगेर बाढीमा बगाई उनको हत्या गरिएको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सूर्यनारायणको जाहेरीले वादी नेपाल सरकारको तर्फबाट रानीमाथि कर्तव्य ज्यान मुद्दा चलाइएपछि उनी फरार भएकी थिइन् । उक्त मुद्दा उपर सुनुवाई गर्दै २०७५ साल फागुन १५ गते २० वर्ष कैद सजायको फैसला सुनाइएको थियो । डिएसपी माधवप्रसाद काफ्लेले रानीले अपराध कबुल गरिसकेको जानकारी दिए । पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया