निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन टोली खटाउन लागेको जानकारी दिए .उनले सामाजिक सञ्जालमा भइरहेको विकृतिहरुलाई अनुगमन गर्न आयोगले एउटा टोली बनाएको र आइतबारदेखि सो टोलीले अनुगमनलाई अघि बढाउने जानकारी गराए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले स्टुडियोमा बसेर गरेको कुराकानी पनि सामाजिक सञ्जालमा आएमा त्यो पनि अनुगमनको दायरामा ल्याउन सकिने बताए । साथै दलको आधिकारिक नाम भएको सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्दैमा आचारसंहिता लागि नहाल्ने उनको भनाई छ ।
यस्तै आयुक्त थपलियाले देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई परिचालन गरिएको बताए । वैशाख १७ गते दलका उम्मेदवार टुङ्गो लागेपछि मात्रै आचार संहिता लागू भएको नभएकोबारे कडाईका साथ अनुगमन गर्ने उनको भनाई छ ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य उम्मेदवार उठाउँदा संविधानको धारा ३८ को ४ अनुसार कम्तिमा एक तिहाई महिला उठाउनुपर्ने बताए । उनले दलहरुले महिलाहरुको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनेमा आयोग विश्वस्त रहेको बताए । उनले आयोगले यो वर्ष ८७ प्रकारका मतपत्र डिजाइन गरेर जिल्ला जिल्लामा पठाइरहेको बताए । अघिल्लो पटकको चुनावमा १० प्रकारमा मात्र मतपत्र रहेकोमा यो वर्ष डिजाइनको संख्या बढाइएको बताए ।
मतपत्र उम्मेदवारको अन्तिम नामावली आउनुअघि नै प्रकाशन गर्नुपर्ने भएकोले उम्मेदवार नभएको पनि चिन्ह हुने बताए । उम्मेदवारको टुङ्गो लागेपछि चुनाव हुने मिति थोरै हुने भएकोले ६ हजार ७ सय ४३ वडामा त्यति नै प्रकारका मतपत्र बनाउन कठिनाई हुने उनको भनाई छ । तर भक्तपुरका नगरका लागि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छापेर पठाउने तयारी रहेको उनको भनाई छ ।
थपलियाले कुनै जिल्लामा मतदान अधिकृतको कार्यालयबाट मतदानस्थलसम्म पुग्न ३ दिनसम्म लाग्ने अवस्था समेत रहेको बताउँदै वैशाख २६ गतेभित्र सबै मतदानस्थलमा मतपत्र पुगिसक्ने उनले बताए । सञ्चारकर्मीको प्रश्नको जवाफका क्रममा उनले जुन दलको चिन्हबाट उम्मेदवारले चुनाव लड्छ उ सोही दलको उम्मेदवार हुने बताए । कसैले स्वतन्त्र चुनाव चिन्हबाट चुनाव लडेमा स्वतन्त्र उम्मेदवार हुने उनको भनाई छ । साथै आयोगले भोलि आइतबार र पर्सी सोमबार उम्मेदवारी दर्ताको तयारी पूरा भएको पनि जनाएको छ ।