कलैया । बारा जिल्लामा रहेको नारायणी प्लाष्टिक उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका बालमन्दिर नजिकै संचालनमा रहेको नारायणी प्लाष्टिक उद्योगका सञ्चालक निरन्जन अग्रवाललाई प्रहरीले शुक्रवार पक्राउ गरेपनि शनिबार सार्वजनिक गरेका छन् । अनुमति बिना ढक तराजु प्रयोग गरे वापत अग्रवाललाई अदालतको आदेशमा हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी राजेश थापाले जानकारी दिए । बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको अधिकारी थापाले बताए । अग्रवाल विरुद्ध प्रहरी कार्यालयमा कुनै किसिमको मुद्धा नरहेको उनले बताए । अनुमति नै नलिइ ढक तराजु प्रयोग गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले अग्रवाल विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अदालतमा उपस्थित भएका अग्रवाललाई मुद्दा हेर्न समय नभ्याएको भन्दै प्रहरी हिरासतमा राख्न आदेश दिएको उनले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका निरीक्षक सुनील कुमार यादवका अनुसार उद्योगमा छड्के अनुगमन गर्दा अवैध रुपले ढक तराजु प्रयोग गरिएको फेला पारेपछि कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए । नियन्त्रणमा लिएको ढक तराजुलाई अनुसन्धान गरेपछि मुद्दालाई फैसला गर्नका लागि अग्रवाललाई अदालतमा हाजिर गराएको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख यादवले बताए । अदालतको फैसला नहुन्जेल अग्रवाललाई प्रहरी हिरासतमा राख्न अदालतले प्रहरीलाई लिखित पत्रचार गरेको थियो । नारायणी प्लाष्टिक उद्योग देशको एक नम्वर ब्राण्डका प्लाष्टिक कम्पनी मानिन्छ । उक्त कम्पनीले विभिन्न आकारका पाईपहरु उत्पादन गर्दै आएको छ ।