Monday 24th of June 2024

चुनावको मौका छोपेर काठ तस्करी

0 Shares

सिन्धुली‚ धनगढी — सिन्धुली प्रहरीले हरिहरपुरगढी गाउँपालिका–१ वाग्मती नदीको किनारमा शुक्रबार राति थुपारेको साल र अन्य जातको २ हजार २९७ क्युफिट काठ बरामद गरेको छ । सालको १८० थान गोलियाको १५४५ क्युफिट र अन्य जातको ७१ थान गोलियाको ७९१ क्युफिट काठ बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले अवैध काठ डिभिजन वन कार्यालय सिन्धुलीलाई बुझाएको प्रहरी प्रमुख एसपी विमलराज कँडेलले बताए । बरामद काठको मूल्य १ करोड रुपैयाँभन्दा बढी हुने वन कर्मचारीले जनाएका छन् । डिभिजन वन कार्यालयका अनुसार काठ बरामद भएको सिपाहीडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई रूख कटानबारे खुलाउन पत्राचार गरिएको छ । सडक निर्माणका क्रममा रूख कटान भएको हुन सक्ने सहायक वन अधिकृत अभिमन्यू केसीले बताए ।

कर्मचारीहरू निर्वाचन केन्द्रित भएको मौका छोपेर कमलाखोंच र मरिणको चुरेको अन्य क्षेत्रमा पनि अवैध फँडानी र तस्करी बढेको छ । तराईबाट आउने काठ तस्करहरूले स्थानीयको मिलेमतोमा सालका रूख काटेर गरेर लैजाने गर्छन् ।

निर्वाचनको मौका छोपेर चुरे क्षेत्रका सामुदायिक वन र राष्ट्रिय वनमा काठ तस्कहरूले चोरी निकासीका लागि सालका रूखहरू ढाल्ने गरेको दुधौली नगरपालिका–२ कोप्चेखोला सामुदायिक वन उपभोक्ता समितिका रेखनाथ दाहालले बताए । डकाहा, सिर्थौली, हत्पते, हर्षाही, निपाने, मिलनचोक, टाँडी, धनसरीको चुरे जंगलमा तस्करहरूले सालका रूख ढाल्ने गरेका छन् । ढालिएका रूखहरू रातारात निकासी हुने गरेको दाहालले दाबी गरे । ‘निर्वाचनको एक महिना आसपासमा तस्करी मौलाउने गरेको छ । सबैको ध्यान चुनावमा हुने भएकाले यस्तो बेलामा तस्करहरूको चुरे वनमा रजगज चल्छ,’ उनले भने । एकातिर ढलापडा सुखाखडाको नाममा वैध बनाएर हजारौं सालका रूखहरू कटान भइरहेको छ । अर्कोतिर काठ तस्कर सलबलाउनाले चुरे जंगल सकिने स्थानीयलाई चिन्ता छ ।

दुधौली नगरपालिका–२ निपानेका वासु कोइरालाका अनुसार बर्सेनि चुरेको जंगल फँडानी र काठ चोरीका लागि तस्करहरूले रूख ढाल्दा उजाड भइसकेको छ । चुरे जंगल उजाड हुँदा खहरेले खेती योग्य जमिन बगरमा परिणत गर्दै लगेको उनको अनुभव छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट हतियारसहित आउने तस्करहरूका अगाडि उपभोक्ताको कुनै जोड चल्दैन् । ‘निशस्त्र चुरे जंगलभित्र पस्नु भनेको ज्यान माया मार्नु सरह हो,’ हर्षाहीका अर्का उपभोक्ता रतन दनुवार भन्छन्, ‘गोलिया काठ लैजानेहरू घरेलु हतियार लिएर आएका हुन्छन्, चुँ बोल्न समेत पाँइदैन्, नत्र ज्यानको खतरा हुन्छ ।’

चुरे जंगलमा गोठालो जाने गरेका रतनका अनुसार सालका गोलिया चोरी गर्नेहरू बयलगाडासहित समूहमा आएका हुन्छन् । ‘खाजासामल लिएर बिहान चुरे जंगल छिर्ने र बेलुकीपख गोलिया लिएर तस्करहरू फर्कने गर्छन्,’ उनले भने, ‘चुरियाको जंगल बाहिरबाट देख्दा घना देखिन्छ, भित्रभित्रै सखाप भइसकेको छ ।’ तस्करहरूले सिन्धुलीको सालको काठ भन्दै भारतको सितामाडी, मजफ्रपुर र बिहारका विभिन्न सहरहरूमा बिक्रीका लागि पुर्‍याउने गर्छन् ।

हत्पतेका रिजेन्द्र बरालका अनुसार सितामाडीमा ‘नेपालको सालको काठ पाइन्छ’ भनेर लेखिएको साइनबोर्ड नै राखिएको छ । तस्करहरूले सालको रूखलाई ढालेर टुन बनाएर लैजाने गरेका छन् । चुरे आसपासमा धेरैजसो फँडानी गरेर बस्ने स्थानीय नै छन् । सालको जंगल हट्दा थप जग्गा भोगचलन गर्न पाइने लोभले स्थानीयको समेत मिलीभगत हुने गरेको हो । निर्वाचन, चाडबाड, प्रकोप, महामारीमा वन कर्मचारीको उपस्थिति नहुनाले तस्करहरूले मौका छोप्ने गरेको बरालले बताए ।

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले कार्यालय एक्लैले फँडानी र अबैध कटानी रोक्न नसक्ने भएकाले उपभोक्ता पनि सचेत हुनुपर्ने बताए । सिन्धुलीमा करिब ८ हजार हेक्टर वन फडानी गरि अतिक्रमण भइसकेको कार्यालयको तथ्यांक छ । चुरे जंगलअन्तर्गत तल्लो फाँटको ३ हजार ३८३ हेक्टर वन पूर्ण रूपमा नष्ट भइसकेको छ । कार्यालयका अनुसार २ लाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्रमध्ये १ लाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्छ । त्यसमध्ये १ लाख ४ हजार ९९७ हेक्टर वन क्षेत्रमा पर्छ भने ४४ हजार १०९ हेक्टर जमिनमा खेती हुँदै आएको छ । ४ हजार २ सय ८६ हेक्टर बुट्यान छ । जिल्लामा ५२६ वटा सामुदायिक वन छन् ।

वन अतिक्रमण बढ्यो
स्थानीय तहको निर्वाचन घोषणापछि कैलालीको वनक्षेत्र पुनः अतिक्रमणको चपेटामा परेको छ । रातारात सयौं हेक्टर वनक्षेत्र अतिक्रमण भइरहेको स्थानीयले बताएका छन् । चुनावको मुखमा जिल्लाको पुरानै अतिक्रमण भएका बस्तीको छेउछाउबाट थप अतिक्रमण सुरु भएको छ । हरेक अतिक्रमित बस्तीमा एकरडेड सय परिवार नयाँ अतिक्रमणकारीहरू थपिएको स्थानीयहरूले बताए । कैलालीको चुरेफेदीको पनरुवामा २ सय ११ पहिरो पीडित परिवार बसिरहेका ठाँउमा ५ सय बढी घरटहरा बनेका छन् ।

गोदावरी तेघरी सामुदायिक वनका पूर्वध्यक्ष कैलाश जोशीकाअनुसार गोदावरी नगरपालिका–४ को बासपानी, फुलन बस्ती, सिमल गैरा, चुनेपानी, सवारी गडा, दम्माड, भालुखोला, भ्याकुता पानी, तर्खर, दोगडे, हनुमान बस्ती र गोदावरी मन्दिरधाम क्षेत्रमा नयॅा अतिक्रमण बिस्तार भएको छ । उनले गोदावरीको बजार क्षेत्र अत्तरिया र धनगढीमा घरघरेडी भएकाहरूले समेत यो ठाउॅमा अतिक्रमित जग्गा ओगटेर बसेको बताए । ‘राजमार्गको दायाँबायाँको अतिक्रमण क्षेत्रमा धनगढी र अत्तरियामा घरभएका व्यवसायी, वनकर्मी र राजनीतिकर्मीहरूले समेत ठाउँ ओगटेका छन्,’ उनले भने, ‘व्यवसायीहरूले भू–माफियाहरूबाट किनेका छन्, राजनीतिकर्मी र वनकर्मीले भू–माफियासँग आफ्नो भाग मागेका छन् ।’

जोशीले गोदावरी क्षेत्रमा प्रदेश राजधानी बनाउने घोषणाले अतिक्रमण बढेको बताए । ‘यस बेला फेरि अतिक्रमण बढेको छ,’ उनले भने । गोदावरी क्षेत्रमा अहिलेसम्म ५ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटमा परेको वन डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको बसन्ता संरक्षित तथा अन्तर्राष्ट्रिय जैविक मार्ग आसपासका बस्तीमा पनि अतिक्रमण बढेको कैलाली हसुलियाका कुलवीर चौधरीले जानकारी दिए । बाढीपीडित र मुक्त कमैया शिविरका बस्तीमा केही घरटहरा नयाँ थपिएको छ । कैलालीको जंगल चुनावकै मुखमा सकिने गरेको संरक्षणप्रेमी विजय श्रेष्ठले बताए । ‘बर्खामा बाढी तथा पहिरोपीडितका नाममा तराईको जगल अतिक्रमण बढ्छ,’ श्रेष्ठले भने, ‘चुनावमा नेताहरूले अतिक्रमित बस्तीलाई भोट बैंक बनाउने नाममा संरक्षण गर्दा अतिक्रमण बढ्छ ।’

चुनावको मुखमा सरोकार निकायको ध्यान कम पुग्ने र राजनीतिक दलको संरक्षणसमेत पाइने भएकोले भू–माफियाद्वारा वन क्षेत्रमा अतिक्रमण विस्तार हुने गरेको डिभिजन वन कार्यालय धनगढीका डिएफओ केशव पराजुली बताऊँछन् । ‘चुनावमा वनका कर्मचारी पनि खटिने भएकाले यसबेला गस्तीको काम समेत कम हुन्छ,’ उनले भने, ‘हामीले निर्वाचन कार्यालयलाई चुनावमा वनका कर्मचारी कमभन्दा कम खटाइदिन आग्रह गरेका छौं ।’ उनले वन डिभिजन कार्यालयसँग कर्मचारी अपुग भएकाले पनि निर्वाचन कार्यालयलाई चुनावमा वनको कर्मचारी नखटाइदिन आग्रह गरेको बताए । कैलालीमा २१ हजार हेक्टर भूमि अतिक्रमित छ । पॉच बर्षमा १० हजार वन क्षेत्र थप अतिक्रमणको चपेटामा परेको वन डिभिजनको कार्यालय जनाएको छ ।

प्रतिक्रिया