काठमाडौं – गत वर्षकाे अगस्ट महिनामा गुगलले आईओएसका लागि नयाँ भिडिओ एडिटिङ टुल ल्याएको थियो । अब एन्ड्रोइडका लागि थप एडभान्स्ड फिचरसहित भिडिओ एडिटर ल्याउन लागेको छ ।
गुगल फोटोजको नयाँ भर्सन ५.३५ सार्वजनिक भएलगत्तै यो फिचरको अनुभव लिन पाइनेछ । फोटोहरुका लागि ब्याकअप राख्ने उत्तम स्थानका रूपमा परिचित गुगल फोटोजमा यसअघि नै तपाईंले फोटोलाई एडिट गर्न सक्नुहुन्छ ।
अब भने गुगल फोटोजले भिडियो एडिटिङका लागि पनि टुलहरु उपलब्ध गराउन लागेकाे हाे । यसमा आउने नयाँ अपडेटमा भिडियो एडिटिङका धेरै टुलहरु उपलब्ध हुनेछन् ।
गुगलले आफ्नो नयाँ भिडियो एडिटिङ टुलका फिचरबारे यसअघि नै विस्तृतरुपमा बताइसकेको छ ।
त्यसो त नयाँ गुगल फोटोज अपडेटले तपाईंलाई पोर्टेबल प्रिमियर प्रो वा उत्कृष्ट वर्कस्टेसन त प्रदान गर्दैन । तर स-साना त्रुटि भएका भिडियाेहरुलाई सम्पादन गर्न यो एकदमै उपयोगी छ ।
तपाईंले आफ्नो चाहनाअनुसार भिडियोलाई घुमाउन वा बङ्ग्याउन सक्नुहुन्छ । भिडियोलाई मार्किङ गर्न पनि सकिन्छ । अझ तपाईं ट्युटोरियल बनाउँदै हुनुहुन्छ भने यसमा फिल्टर र स्टिकर पनि राख्न मिल्छ ।
यसमा सबैभन्दा प्रोफेसनल ग्रेड टुल भनेको ब्राइटनेस मिलाउन सकने क्षमता छ र भिडियोको लुक्सलाई सुधार्न वार्म्थ, स्याचुरेसन, हाईलाइट्स जस्ता धेरै कलर सेटिङहरु यसमा छन् ।
एक्सडीए डेभलपर्सको अनुसार क्लिप भिडियोलाई स्टेबलाइज गर्न यो एकदमै उपयोगी छ ।
गुगल फोटोजको यो नयाँ फिचरले त्यति धेरै लाइफचेन्जिङ फिचर त ल्याएको छैन । तर भिडियोमा केही गर्न चाहनेहरुका लागि भने यसले उत्साह थपेकाे छ ।