जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकामा उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
जसपा मुख्यालयको बैठकबाट यादवलाई विराटनगर उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएको कार्यकारिणी सदस्य प्रदीप यादवले जानकारी दिएका छन् । उपमेयरका उम्मेदवार बनाइएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । उपमेयरका लागि महानगर कमिटी अध्यक्ष समेत रहेका यादव सहित केन्द्रीय सदस्य भूराज राई, डा।रामविलास यादव, उपाध्यक्ष मोहम्मदनसरुल , प्रदेशसभा सदस्य विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका ८ जना मध्ये जसपाले अमरेन्द्रलाई विराटनगरको उपमेयर उम्मेदवार बनाउने निर्णय गरेको हो । उपमेयरमै सिफारिस भएका उमेश यादवले आइतबार स्वतन्त्रबाट महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट विराटनगरको मेयरका उम्मेदवार थिए । सत्तागठबन्धनको भागबन्डामा जसपाले वीरगञ्जमा मेयर र विराटनगरमा उपमेयर पाएको छ ।