धनुषा ः नेकपा एमालेले धनुषाको मिथिला नगरपालिकाको मेयर पदको लागि राजाराम महतोलाई उम्मेदवार बनाएको छ । पार्टीको नगर कमिटीले सर्वसम्मत रुपमा बहालबाला मेयर हरिनारायण महतोलाई एकल सिफारिस गरेपनि पार्टीले अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको हो ।
पार्टीले आफूलाई मेयरको टिकट दिएको प्रत्यासी राजाराम महतोले जानकारी दिए । उनले २ बजेअघिनै ढल्केवरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउने तयारी गरिरहेको बताए ।
राजारामले अघिल्लो चुनावमा कांग्रेसबाट बागी बनेर स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएर पराजित भएका थिए । कांग्रेसबाट बागी उम्मेदवार बनेका महतो मतपरिणाममा तेस्रो स्थानमा थिए । मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत प्राप्त गरेका थिए ।
तेस्रो स्थानमा रहेका राजाराम महतोलाई केहीवर्ष अघिमात्रै बहालबाला मेयर हरिनारायण महतोलेनै पहल गरेर एमालेमा भित्र्एका थिए । तर एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजारामलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।
अहिले हरिनारायण पक्षधरहरु आकस्मिक बैठक डाकेर छलफलमा जुटेका छन् । नेताकार्यकर्ता, समर्थक तथा शुभेच्छुकरुको मनोभावअनुसार सबै वडामा उम्मेदवारी दिँदै स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिने हरिनारायण निकट एक नेताले जानकारी दिए ।
यसअघि मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले सर्वसहमति रुपमा पुनः हरिनारायण महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।