मिथिलानगरपालिकाका निवर्तमान मेयर हरिनारायणले त्यागे एमाले, जग्गा व्यापारीलाई उम्मेदवार बनाएको आरोप

धनुषाको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नेकपा एमाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय सदस्य एवम् धनुषाको सह इन्चार्ज समेत रहेका महतोले आजैको मितिबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

मिथिला नगरपालिकाका मेयर पदमा मनोनयन दर्ता गराएपछि द पब्लिक टुडेसँग कुराकानी गर्दै महतोले पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरीत जग्गा व्यापारीलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।

यसअघि एमालेबाट मेयर बनेका महतोले यसपटक पार्टीले टिकट खोसेपछि पुनस् मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन् । निवर्तमान मेयर हरिनारायण महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए ।

पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।

राजारामले अघिल्लो चुनावमा कांग्रेसबाट बागी बनेर स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएर पराजित भएका थिए । कांग्रेसबाट बागी उम्मेदवार बनेका महतो मतपरिणाममा तेस्रो स्थानमा थिए । मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा रहेका राजाराम महतोलाई केहीवर्ष अघिमात्रै बहालबाला मेयर हरिनारायण महतोलेनै पहल गरेर एमालेमा भित्र्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार