धनुषाको मिथिला नगरपालिकाका मेयर पदमा नेकपा एमालेको तर्फबाट राजाराम महतोले मनोनयन दर्ता गराएका हुन् ।
निवर्तमान मेयर हरिनारायण महतोसँग अन्तिम समयमा टिकट खोसेर राजारामलाई उम्मेदवार बनाएको हो । एमालेको तर्फबाट मेयरमा राजाराम महतोले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए ।
यस्तै एमालेले उपमेयरमा सुनिता सिंह बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
यता यसअघि एमालेबाट मेयर बनेका महतोले यसपटक पार्टीले टिकट खोसेपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् । निवर्तमान मेयर हरिनारायण महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत धितालले जनाए ।
पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।