धनवीर, नागेन्द्र
सम्सी ।
सम्सीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारमैत्री बन्न सकेको छैन् । जसको कारण उम्मेदवार दर्ता गराएकाहरु समयमै सुचना पाउनबाट बन्चित भएका छन् । उनीहरुलाई केही कुराको जानकारी लिन र अपडेट गराउनका लागि समस्या हुने गरेको छ । कार्यालयबाट समयमै सुचना सम्प्रेषण नहुँदा र महोत्तरीको सम्सीका उम्मेदवारहरु सही समयमा सुचना पाउनबाट वन्चित भएका छन् । प्रकाशित गरिएको सुचना सवैले देख्नेगरि नटाँस्दा उम्मेदवारहरुलाई असजिलो भएको छ । निर्वाचन अधिकृतसँग उम्मेदवारहरु प्रत्यक्ष रुपमा भेटघाट नहुँदा आवश्यक विषयवस्तु उपर छलफल हुन सकेको छैन । आवश्यक कागजातहरु प्रत्यक्ष रुपमा निर्वाचन आयोगको कार्यालयमा पुगन नसक्ने अवस्था रहेको नेकपा माओबादी केन्द्रका नेता विजय यादवले बताए । जसको कारण अन्तिम नामावालीमा आफनो पार्टी समर्थित वडा नं. ६ का वडाअध्यक्ष शेष उमैद, वडा नं. २ का वडाअध्यक्ष शेष मकसुद र वडा नं. ७ का वडा सदस्य दशै महतो नुनियाको नाम हटाईएको नेकपा माओवादीका नेता विजय यादवले बताए । उनले भने, ‘हरतवरले कागजात पुरा हुँदा समेत आयोगका प्रतिनिधीले विपक्षीको ईशारामा विना कारण नाम हटाईएको हो । पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्ष रुपमा उम्मेदवारहरुको पहुँच नहुँदा कागजात वुझाउन लगायतका अन्य जानकारी समयमा पाउनका लागि मुश्किल सिर्जना भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको पहुँचमा अवरोध सिर्जना भएको छ ।’ नियम संगत एवम् कागजातकै अधारमा उम्मेदवारहरुको नामावाली प्रकाशन गरिएको निर्वाचन अधिकृत दिलीपकुमार प्रधानले जानकारी दिएका छन् । अधिकृत प्रधानका अनुसार उनीहरुमध्ये कागजात अपुग भएकोले उनीहरुको नाम वैधानिक नभएपछि सुची प्रकाशन नगरिएको संचारकर्मीलाई बताएका छन् । अधिकृत प्रधानले भने, ‘सम्सी गाँउपालिकाबाट वैशाख १५ गते प्राप्त भएको पत्रअनुसार उनीहरुको उम्मेदवारी खारेजी भएको हो । गाँउपालिकाबाट पाएका पत्रअनुसार वडाअध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान वडाअध्यक्षद्वय शेख मकसुद आलम र मो. मकसुदले नगद तथा जिन्सी कार्यालयलाई वरबुझार्थ नगरिएको र वेरुजी हालसम्म फछर्यौट नगरिएको देखिएको छ । निर्वाचन आयोगको कानुन अनुसार उनीहरुको उम्मेदवारी रद्द गरिएको हो ।’
यता वडासदस्यका उम्मेदवारहरु दशै महतो नुनिया र तेज नारायण यादवको हकमा उनीहरुको अधुरा कागजातको कारण कानुन बमोजिम नाम प्रकाशन गर्न नसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक अवधारण सार्वजानिक भएपछि कार्यालय अगाडि रहेको भिडलाई नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन् । अहिले त्यहाँको वातावरण साम्य रहेको जनाएको छ ।