Thursday 10th of October 2024

महोत्तरीको सम्सीमा निर्वाचन कार्यक्रम पुनः दोहाराउने ।।

0 Shares

धनवीर महतो 

महोत्तरी / सम्सी गाँउपालिकाका निर्वाचन कार्यक्रम पुनः दोहाराउने भएको छ । निर्वाचन आयोगले सम्सीमा कायम रहेको विवादलाई साम्य पार्नका लागि निर्वाचन अधिकृत फेरिए लगतै सो पालिकामा निर्वाचन कार्यक्रमहरु पुनः दोहरिने भएको छ ।

निर्वाचन अधिकृत विनोद कुमार दाहालका अनुसार निर्वाचन आयोगले संशोधन कार्यक्रम सहित निर्वाचन गतिविधी गर्नका लागि निर्देशन दिईएकोले सोही अनुसार यहाँ कार्यक्रम संचालन हुने जानकारी दिएका छन् । निर्वाचन अधिकृत दाहालले भने, ‘यसभन्दा अघिका निर्वाचन अधिकृत दिलीप कुमार प्रधानले कार्यसम्पादन गर्ने क्रममा विवाद सिर्जना भएपछि कार्यक्रम फेरिएको हो । अव सम्सी पालिकाको हकमा नयाँ कार्यतालिका प्रकाशन भएको छ । जस अनुसार भोली सोमबार दोस्रो पटक मनोनयन जाँच गर्ने, उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने भएको छ । त्यस्तै सोही दिन दाबी विरोधको छानबिन गरिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । अनि वैशाख २१ गते मंगलवार चुनाव चिन्ह प्रदान गरिनेछ ।’

निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्सी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उपसचिव दिलीप प्रधानलाई फिर्ता पठाइएको हो । प्रधानको ठाउँमा निर्वाचन अधिकृत विनोदकुमार दाहाललाई खटाइएको छ ।

यस अघिका निर्वाचन अधिकृत प्रधानले माओवादी केन्द्रका दुई वडाध्यक्ष र एक जना वडा सदस्यको उम्मेदवारी रद्द गरेका थिए । निवर्तमान वडाध्यक्ष र सदस्यले गाउँपालिकाबाट लिएका जिन्सी सामान फिर्ता र बेरुजु रकम दाखिला नगरी फेरी वडाध्यक्षको उम्मेदवार भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि वडाध्यक्ष र सदस्यको उम्मेदवारी रद्द गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय वडा नं. २ मा माओवादी केन्द्रका उम्मेदवार शेष मकसुद आलम र माओवादी केन्द्रकै वडा नं. ६ का अध्यक्षका उम्मेदवार शेष उमैदको उम्मेदवारी रद्द गरेको थियो ।

माओवादी केन्द्रका तीन जना उम्मेदवारको उम्मेदवारी रद्द भएपछि गत शुक्रवार निर्वाचन अधिकृत कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया