काभ्रे / भारतीय पर्यटक बोकेको गाडी र जिप काभ्रेमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ।
तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक जिप बुधवार मध्यान्ह १२ः१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । एक बालकसहित पाँच जनाको मृत्यु भएको उनले बताए । यस्तै १८ जना घाइते छन् ।
युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा एक यात्रुको अवस्था गम्भीर छ ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको हो ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका सात वर्षका छोरा संगीत भुषालको मृत्यु भएको छ ।
तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर भारतीय नम्बर प्लेटको गाडीसँग ठक्कर खान पुगेको देखिएको उनले बताए ।