Saturday 12th of October 2024

नगरको वागडोर युवालाई दिनुस् अनि गौशालावासी विकासको सवालमा ढुक्क रहनुस् : डा. महतो ।।

0 Shares

महोत्तरी / जनमैत्री विकास, पालिकाभरिमा सुशासन अनि विभेदरहित समाजको परिकल्पना गर्दै गौशाला नगरपालिकाको लागि मेयर पदको लागि उम्मेदवारी दिएका हुन् ३२ बर्षिय युवा डा. दिपेन्द्र महतो । पेशाले चिकित्सक (स्त्री तथा प्रसुती रोग विशेषज्ञ) रहेका डा दिपेन्द्र महतो पहिलोपटक जनता समाजवादी पार्टीको तर्फबाट राजनितीकमा होमिएका हुन । उनले आफ्नो पाईलालाई गौशालावासीको विकासमैत्री सपना साकार पार्नका लागि अगाडि बढाएका छन् । उनले चौतर्फी विकास गरि पालिकालाई प्रदेशमै उत्कृष्ट एवम् नमुना बनाईने परिकल्पना समेत गरेका हुन् । प्रस्तुत छ डा दिपेन्द्र महतोसँग  धनवीर महतोले गरेको कुराकानीको सम्पादित अंश….

१) तपाई एक चिकित्सक भएर रोगीको उपचार गराउने प्रतिष्ठित पेशामा आवद्ध हुँदाहुँदै राजनितीक क्षेत्रमा किन आउनुभयो ?

– म स्त्री तथा प्रसुती रोगसम्बन्धमा एम.डी.गरेको छु । मेरो व्यवसायिक पेशा चिकित्सक हो । मलाई थाहा छ विरामीलाई उपचार गर्नका लागि के के चाहिन्छ भनेर । म त्यहि अवधारणालाई मनन गर्दै गौशाला नगरपालिकाको रोगलाई चिरफार गरि स्वस्थ बनाउनका लागि आफुले नगरको सेवकको रुपमा आफुलाई प्रस्तुत गरेको छु । स्वास्थ्य सेवाप्रदायक व्यवसायमा संलग्न रहेको समयमा अचानक म मा जनताको म गौशालावासीको चरम ईच्छा थियो कि म यसको वागडोर सम्हालु । मैले उहाँहरुकै आग्रहलाई कदर गर्दै आज गौशाला नगरपालिकाको नगरप्रमुख पदको लागि उम्मेदवारी दिएको छु । म आफुलाई उहाँहरुको दुःखमा केहीमात्रामा भएपनि मलहम दल्ने प्रयास गर्नेछु । मैले आफ्नो कार्यको शिलशिलामा स्थानियस्तरमा अनेकौ वेथितीहरुलाई नजिकैबाट प्रत्यक्षरुपमा नियालेको छु । देशले कम समयमै अनेकौ परिवर्तन गरेका छन् । तर यहाँका नागरिकहरु सोचे अनुरुप केही पनि परिवर्तन गरेको अनुभव छैन । देशको संविधान अनुरुप संघियताको स्थापना भएपछि सिंहदरवार झै अधिकार स्थानियतहमा ल्याउन सफल भएछ । दुई दशकपछि यहाँका जनप्रतिनिधीहरु गत ५ बर्षे कार्यकाल विताईसकेका छन् । तर सर्वसधारणहरु यसवीचमा अभावै अभावमा राखेको छ । जसको मुख्य वाधकतत्व भनेकै स्थानियस्तरमा स्वास्थ्य र शिक्षाको अवस्था कमजोर हुनु हो । सरसर्ती हेर्ने हो भने स्थानिय सरकारले स्वास्थ्य र शिक्षाको सवालमा स्पष्ट निती र धारणालाई अझ प्रत्यक्षरुपमा अंगाल्न सकेको छैन ।

२) त्यसो भए गौशालावासीको यहाँमाथि अधिक नै आशा र भरोसा रहेको छ । तपाईले उनीहरुको विश्वासलाई कायम राख्न के गर्नुहुन्छ ?

– अवश्य, मैले उनीहरुकै भरोसालाई कायम राख्नका लागि राजनितीकमा आएको हुँ । दृढ ईच्छा र संकल्प लिई राजनितीकयात्रा आरम्भ गरेको छु । आफ्नो चिकित्सकजस्तो पेशालाई पनि मैले त्यागेको हुँ । मैले आफ्नो लागि होईन् न कि परिवारकै लागि । हुन त मेरो परिवारबाट मेरो आमा र वुवा बर्षौदेखि सक्रिय रुपमा राजनितीक गर्दै हुनुहुन्छ ।

म उहाँहरुकै प्रेरणालाई स्रोत मानेर यसतर्फ अगाडि आएको हुँ । म उहाँहरुबाट अधिक नै प्रभावित भएको छु । मैले उहाँहरुको राजनितीक क्रियाकलापहरु वहुत निकटबाट अनुभव गरेछु । म उहाँहरुको सल्लाह र परामर्शले गौशालामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमुल्य परिवर्तन गर्नेछु । यसको लागि मैले दृढ संकल्प लिएको छु । म गौशालालाई यसप्रदेशकै नमुना पालिकाको रुपमा परिचित हुने किसिमले सवैको साथ र सहयोग लिएर कार्यसम्पादन गरिनेछु । आमनागरिकको ईच्छा पनि यहि नै हो । मैले उनीहरुको मनोभावनालाई रतिभरि पनि ठेस पुगाउने कार्य गरिने छैनौ । अव गौशालावासीले विकासको सवालमा ढुक्क भए हुन्छ । अव यहाँ विकासको लहर छाउनेमा म प्रतिवद्ध जाहेर गर्न चाहन्छौ । म सँग स्वास्थ्यको साथै शैक्षिक अनुभव रहेको छ । समाजमा ज्ञानवद्र्धक तत्वको अत्यन्त आवश्यक रहेको छ । म उहाँहरुको आशा र भरोसालाई हरपल कायम हुने किसिमले प्रस्तुत हुनेछु ।

३) बर्षौदेखि राजनितीक गरेकोहरुको वीचमा तपाई आफुलाई प्रतिस्पर्धा उत्रिनुभएको छ । यस कठिन यात्रामा सफलता पाउनका लागि कतिको मेहनेत गर्नुभएको छ ?

– हुन त यो पक्कै पनि सही कुरा रहेछ । यहाँ बर्षौसम्म राजनितीकको स्वाद लिएकाहरु अहिले नगरप्रमुखको रुपमा चुनावी मैदानमा उत्रिएको छ । म यस क्षेत्रमा पहिलो पटक उत्रिएको हुँ । मैले यसभन्दा अगाडि वुवा र आमा निर्वाचनमा भाग लिएको समयमा उहाँहरुको सहयोगीको रुपमा क्रियाशिल रहेका थिएँ । जसले गर्दा मलाई राजनितीक क्रियाकलाप आंशिक रुपमा थाहा रहेछ । मैले स्थानियवासीको आग्रहमा यसक्षेत्रमा आएको हुँ । त्यसैले मलाई विश्वास छ म सवैको सहयोगमा यसमा सफल रहनेछु । जनताको चरम ईच्छा रहेको छ यहाँको नेतृत्वको वागडोर पढेलेखेको र युवा पिढीले पाउन भनेर । तर पछिल्लो समयको चुनावमा यो सम्भव भएन् । पढेलेखेको युवा राजनितीकक्षेत्रमा आउनका लागि अनिच्छुक हुँदा सर्वसधारणहरु निराश भईसकेको छन् । जहिल्यै पनि एउटै अनुहार जसले गर्दा राजनितीकमा उनीहरु नयाँ स्वाद पाउनबाट वन्चित भएको अवस्था छ । म यसक्षेत्रमा पढेलेखेको एउटा युवा समाजसेवाको रुपमा उभिएको छु । मैले उनीहरुको समस्यालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको छु । जसलाई मनन गरि चुनावी घोषणापत्रमा उल्लेख गर्नेछु । अनि कार्यान्वयन पनि गर्नेछु । म गौशालामा विकासको क्षेत्रमा सफलता पाउनका लागि हरसम्भव प्रयासरत रहनेछु । गौशालावासीको समग्र विकासको निम्ति सवैको सल्लाहअनुसारको यात्रामा उतार्नका लागि आफुलाई तयारी अवस्थामा राखेको छु ।

४) यहाँको चुनावी एजेण्डा के के रहेका छन् ? यसो संक्षिप्तमा जानकारी गराउनुहुन्छ कि ।

– अवश्य, मेरो चुनावी एजेण्डा जनमैत्री रहेको छ । भ्रष्टाचार र कमिशनमुक्त पालिका, सुशासन अनि जनमैत्री पालिका, स्वरोजगारको साथै उद्योगग्रामको स्थापना, विभेदरहित समाज, किसानलाई आवश्यक मात्रामा सर्वसुलभ मलखाद्य, विउविजन, आधुनिक प्रविधी र सिचाईको व्यवस्था रहनेछ । त्यस्तै म आफु एक स्वास्थ्यकर्मी भएकोले कुनै पनि व्यक्तिलाई उपचारको लागि रतिभरि पनि कठिनाई हुनेछैन । म आफ्नै निगरानीमा यहाँका सामुदायिक स्वास्थ्यसंस्थालाई पूर्वाधार जनशक्ति परिचालन गरि व्यवस्थित गरि सेवा परिचालन गर्नेछु् । यहाँको शिक्षा पनि कमजोर रहेको छ । यसलाई पनि व्यवस्थित गर्ने मेरो सोचाई रहेको छ । त्यस्तै गौशाला बजार र निगौल गाई गौशालालाई सर्वपक्षीय रुपमा व्यवस्थित गरिनेछु । वालवालिका, ज्येष्ठ नागरिकलाई सहज र सुलभरुपमा समाजिक सुरक्षाभता वितरण कार्य लगायत हरतवरले सहयोग उपलब्ध हुनेछ । समाजमा सकारात्क सन्देशका लागि संचारको माध्यमले सुचना सम्प्रेषण गरिनेछ । समग्रमा भन्नुपर्दा गौशालाबासीको ईच्छाअनुसार नै यस नगरपालिकाको विकास निर्माणको गतिविधीलाई अगाडि बढाउनेछु ।

५) पालिकाको जनप्रतिनिधीले पहिलो कार्यकाल विताएको छ । यसलाई मनन गर्दै तपाई आफु्लाई कुन रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ ?

– वि. सं. २०७२ सालमा जनताद्धारा संविधान निर्माण भएर देशमा कार्यान्वय भएर अहिले संघियता स्थापित भईसकेको छ । त्यसैको परिमाणस्वरुप अहिले सिंहदरवार सहितको अधिकार रहेको पालिकामा जनप्रतिनिधीले पहिलो कार्यकाल विताईसकेको छ । यसलाई समीक्षा गर्ने हो भने अनेकौ उपलब्धि प्राप्त हुनसक्छ । जसबाट अगामी कार्यकालको लागि काम गर्नका लागि गाईडलाईनको रुपमा सावित हुनेछ । हुन त मैले आफनो पेशागत शिलशिलामा गौशाला नगरपालिकासँग त्यतिमात्रामा अनुभव वटुल्न पाएनौ । स्थानियपालिका संचालनको क्रममा नगरवासीको दुःखपिडा मैले सहजै अनुभव गरेको छु ।

 कमिशन र भ्रष्ट्राचारयुक्त कर्मचारी र जनप्रतिनिधीले वास्तवमै पालिकालाई सिंहदरवार बनाएको रहेछ । जुन दरवारमा रहेर सिंह कहलाउनेहरु सिधासाधा जनमानस उपर राज मात्रै गरेका रहेछन् । यस कार्यले जनताहरु पालिकादेखि आजित भईसकेका छन् । म त्यसअवधिलाई सुक्ष्म रुपमा अध्ययन गरिसकेको छु । मनन गर्दै म आफुलाई जनमैत्री सुशासन पालिकावाटै सहज रुपमा उपलब्ध गराउने किसिमको रणनिती बनाईसकेको छु । म पछिल्लो घटनाको सम्बन्धमा केही चर्चा गर्न चाहन्न । परन्तु त्यसलाई मनन गर्दै आफुलाई उतार्न सकभर कोसिस गरि रहनेछु । पालिकामा सुशासन अनि नगरभित्रमा स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक पूर्वाधारलाई जनजनमा पुर्याउने छु । म सर्वपक्षीय छलफल, विचार, विमर्श गरि चौतर्फी रुपमा जनमैत्री विकासको लागि नगरलाई विकासको यात्रामा अगाडि बढाउने प्रतिवद्ध रहेको छु । उहाँहरुले म माथि गरिएको आशा र भरोसालाई म कदापी खेर जान दिदैनौ । गौशालामा आधुनिक मोडालिटी सहितको व्यवस्थित पालिका बनाउनका लागि हरसम्भव प्रयासरत रहनेछु ।

६) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

-यसपालिको स्थानियतहको चुनावमा गौशालावासीलाई शिक्षित युवा जनप्रतिनिधी चुनिने एउटा अवसर प्राप्त भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट गौशाला नगरपालिकामा उम्मेदवारी दिएका हरेक उम्मेदवारहरु पढेलेखेका  युवाहरु नै रहेका छन् । मेयरपदका लागि म स्वयम एमडी तहको शिक्षा हासिल गरेको छु । त्यस्तै मेरो प्यानलको उपमेयर रेणुकुमारी महतो वीवीएस गरेकी छिन् । त्यस्तै मेरो प्यानलमा उम्मेदवारी दिएकाहरु एस.एल.सी. उतिर्णदेखि स्नातकतह उतिर्ण गरिएका युवाहरुको समुह रहेको छ । शिक्षित व्यक्ति नेतृत्व पाउनुपर्छ भनेर हरेक स्थानमा आवाज उठदै आएको छ । यसपटक हामीहरु गौशालालाई विकसित गरि पालिकाको मुहार नै परिवर्तनका लागि शिक्षत अनि युवाहरुको टोली नै उम्मेदवारी दिएका छौ । अगामी वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनमा यसअवसरमा पछि नहटनका लागि म सम्पूर्ण गौशालावासीलाई विनम्र अनुरोध गर्न चाहन्छ्ु । युवा र शिक्षितहरुले अगामी ५ बर्षे कार्यकालमा अवश्य नै गौशालालाई यस प्रदेशमै उत्कृष्ट अनि नमुना पालिकाको रुपमा स्थापित गरिदिनेछु । सिंहदरवारको अधिकार अब गौशालामै पाउनुहुनेछ म सवैमा पुनः प्रतिवद्धता जाहेरी गर्न चाहन्छ् । युवाशक्ति मुहार परिवर्तन गर्न सकिन्छ भनेर हामीहरु राजनितीक मैदानमा उत्रिएका छौ । हाम्रा टिममाथि भरोसा गर्नस हामी यस नारालाई यथार्थमा परिणत गरिदिनेछौ । हामी सिंह बनेर होईन वल्कि दरवारमा सेवकको रुपमा कार्यसम्पादन गर्नेछौ ।

 

 

प्रतिक्रिया